वीरगन्ज-
अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्दै जाँदा देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सम्बन्धित सडकको अवस्था अनिवार्य रूपमा बुझेर मात्र यात्रा गर्न, जोखिमपूर्ण सडकमा अनावश्यक यात्रा नगर्न तथा प्रशासनले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ। केही सडकमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि धेरै स्थानमा पहिरो पन्छाउने र सडक मर्मतको काम जारी रहेको छ।
ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा सोमबार बिहान गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। कोशी प्रदेशमा भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। तेह्रथुमको लालिगुराँस नगरपालिका–स्थित काँडेमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशका जोखिमयुक्त सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी) मा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ भने सडकको अवस्था हेरेर दिनको समयमा मात्र सवारी सञ्चालन गर्न दिइएको छ। मकवानपुरको कान्ति लोकपथ (हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर) मा पनि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध कायम छ।
यस्तै, सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। दोलखाको किर्नेटारमा आएको बाढीपछि लामासाँघु–रामेछाप सडक अवरुद्ध रहे पनि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। रसुवाको खाल्टे क्षेत्रमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अझै बन्द रहेको र तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा पनि बागलुङ, गोरखा, मनाङ, म्याग्दी र लमजुङका विभिन्न सडक पहिरोका कारण प्रभावित भएका छन्। बागलुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ भने गोरखा, मनाङ, म्याग्दी र लमजुङका प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध छन्।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा मौसमको पूर्वानुमान, सडकको पछिल्लो अवस्था र सम्बन्धित निकायको सूचनालाई ध्यानमा राख्न आग्रह गरेको छ। विशेषगरी रातिको समयमा जोखिमयुक्त सडकमा यात्रा नगर्न, वैकल्पिक मार्गको प्रयोग गर्न तथा आपत्कालीन अवस्थाका लागि आवश्यक सामग्री साथमा राख्न पनि अनुरोध गरिएको छ।












