२०८३ श्रावण १८ गते, सोमबार १०:४२

सावधान ! २५ भन्दा बढी जिल्लाका साना नदीमा बाढीको जोखिम, नदी किनार र तटीय क्षेत्रमा सतर्क रहन आग्रह

वीरगन्ज

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका २५ भन्दा बढी जिल्लामा रहेका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउने जोखिम रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले सोमबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदीमा वर्षासँगै जलसतह एक्कासि बढ्न सक्ने भएकाले नदी किनार, खोला तर्ने स्थान तथा तटीय बस्तीमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने भएको हो। नदीजन्य सामग्री उत्खनन, माछा मार्ने, पौडी खेल्ने वा खोल्सामा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने साना नदी तथा खोलामा आज जलसतह उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ।

यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। स्थानीय प्रशासन र उद्धार निकायले जारी गर्ने सूचना नियमित रूपमा पालना गर्न महाशाखाले आग्रह गरेको छ।

यद्यपि आज बिहानसम्म देशका प्रमुख नदीहरू-कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीमा पनि तत्काल बाढीको जोखिम देखिएको छैन।

महाशाखाले भोलि पनि सातै प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरेको छ। त्यसैले मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रबाट आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा रहन सर्वसाधारणसँग आग्रह गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस