२०८३ श्रावण १९ गते, मंगलवार ०९:३६

तराईनजिक सक्रिय न्यूनचापीय रेखा, मधेससहित विभिन्न प्रदेशमा आज भारी वर्षाको चेतावनी

वीरगन्ज –

मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ सरी नेपालको तराई भूभागनजिक सक्रिय रहेकाले आज (मंगलबार) देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासँगै हिमपात हुने सम्भावना छ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, बागमती, गण्डकीका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै कोसी, बागमती, गण्डकी, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णालीका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी–नाला आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस