काठमाडौं-
लगातारको वर्षापछि देशका विभिन्न राजमार्गमा बाढी र पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्रै यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार उपत्यकासहित कोशी र बागमती प्रदेशका विभिन्न मुख्य सडकमा यातायात आंशिक वा पूर्ण रूपमा प्रभावित भएकाले गन्तव्यतर्फ निस्कनुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न आवश्यक छ। जोखिमयुक्त सडकमा जथाभावी यात्रा गर्दा यात्रु अलपत्र पर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख मार्गमध्ये ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोलामा पहिरो जाँदा सितापाइला–धार्के सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन भइरहेको छ भने वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा पनि वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेशका केही राजमार्गमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ।

बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्थाअनुसार सवारी सञ्चालन गरिनेछ।
त्यस्तै कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यसैबीच सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वडा नम्बर–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले यात्रा सुरु गर्नुअघि सडकको पछिल्लो अवस्था, वैकल्पिक मार्ग र मौसमसम्बन्धी जानकारी अनिवार्य रूपमा बुझ्न, आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न सबै यात्रुलाई अनुरोध गरेको छ। यात्रुअघि पर्याप्त जानकारी लिएर यात्रा गर्दा सम्भावित जोखिमबाट जोगिन र सुरक्षित गन्तव्यमा पुग्न सहज हुने प्रहरीको भनाइ छ।











