वीरगन्ज-
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना तोकिएर फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा विशेष प्रहरी टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिई अदालतमा दाखिला गराएको हो।
पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका ६ जना, घरेलु हिंसाका ३ जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका १ जना र बिगो भरी भराउ मुद्दाका १ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ वर्ष कैद र रु. ३३,५०० जरिवाना असुल हुन बाँकी रहेको थियो।
पक्राउ परेकाहरूमध्ये बिगो भरी भराउ मुद्दाका १ जनालाई २ वर्ष कैद तोकिएको थियो भने अन्य मुद्दाका प्रतिवादीहरूलाई जरिवाना फैसला गरिएको थियो। प्रहरीले फरार अभियुक्तहरू पक्राउ गरी अदालतमा बुझाउने अभियानलाई निरन्तरता दिँदै आएको छ।











