रौतहट–
रौतहटको गुजरा नगरपालिका-३ धनसार पुलनजिक पूर्व-पश्चिम (महेन्द्र) राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो। ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए।
दुर्घटनापछि केही समय अवरुद्ध भएको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका-११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी गौतमले बताए।











