काठमाडौं –
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको कक्षा १२ को ग्रेडवृद्धि (मौका) परीक्षाको नतिजाअनुसार ५७ हजार ८९७ विद्यार्थी उत्तीर्ण भएका छन्। यो परीक्षामा सहभागी कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गर्दै कक्षा १२ उत्तीर्ण गरेका हुन्।
बोर्डले तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको जनाएको छ। साथै, प्राविधिक कारणवश नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने व्यवस्था गरिएको पनि बोर्डले स्पष्ट गरेको छ।
विद्यार्थीहरूले आफ्नो परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत हेर्न सक्नेछन्।
राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि (मौका) परीक्षा यही साउन २ र ३ गते सञ्चालन गरेको थियो।












