२०८३ श्रावण २२ गते, शुक्रबार १०:२८

अमेरिकी नागरिकता नीतिमा ठूलो फेरबदल, ट्रम्पले जारी गरे दुई कार्यकारी आदेश

काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनले यस क्रममा अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन्।

दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको अघिल्लो प्रयास अस्वीकार गरेको थियो। उक्त निर्णयबारे प्रतिक्रिया दिँदै ट्रम्पले भने, “यो निकै प्रतिस्पर्धात्मक निर्णय थियो, तर अत्यन्तै दुर्भाग्यपूर्ण पनि थियो।”

अमेरिकी संविधानको १४औँ संशोधन ले अमेरिकी भूमिमा जन्मिएका अधिकांश शिशुलाई स्वतः अमेरिकी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। विदेशी कूटनीतिज्ञका सन्तान तथा शत्रु राष्ट्रका सैनिकका सन्तान भने यस व्यवस्थाबाट अपवादमा पर्छन्।

ट्रम्पले उक्त व्यवस्थाको उद्देश्य गृहयुद्धपछि दासका सन्तानलाई नागरिकता प्रदान गर्नु रहेको उल्लेख गर्दै अहिले यसको दुरुपयोग भइरहेको दाबी गरे।

नयाँ आदेशमा के छ?

ट्रम्पका अध्यागमन नीतिसम्बन्धी सल्लाहकार स्टेफन मिलरका अनुसार पहिलो कार्यकारी आदेशले विदेशी आतंकवादी संगठनका सदस्य तथा विदेशी सरकारका तर्फबाट काम गर्ने केही व्यक्तिका सन्तानलाई जन्मसिद्ध नागरिकताको सुविधा नदिने व्यवस्था गरेको छ।

उनका अनुसार यसले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग रोक्न सहयोग गर्नेछ।

दोस्रो कार्यकारी आदेश ‘बर्थ टुरिजम’ लाई लक्षित गरिएको छ। अर्थात्, बच्चाले अमेरिकी नागरिकता प्राप्त गरोस् भन्ने उद्देश्यले गर्भवती महिलाले पर्यटक भिसामा अमेरिका जाने अभ्यासलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको हो।

मिलरले भने, “अब यस्तो उद्देश्यका लागि पर्यटक भिसा प्राप्त गर्न अनुमति दिइने छैन।”

यसरी अमेरिका पुगेर बच्चा जन्माउने विदेशी महिलाको आधिकारिक तथ्यांक उपलब्ध छैन। तर, ट्रम्प समर्थक संस्था सेन्टर फर इमिग्रेसन स्टडिज ले सन् २०१६–२०१७ बीच २० हजारदेखि २५ हजार महिलाले यस्तो गरेको दाबी गरेको छ।

ह्वाइट हाउसले नयाँ कार्यकारी आदेश सर्वोच्च अदालतको अघिल्लो निर्णयसँग नबाझिने दाबी गरेको छ। यद्यपि, कानुनविद्हरूले यी आदेश अदालतमा कानुनी चुनौतीको सामना गर्न सक्ने बताएका छन्।

ट्रम्पले भने, “मलाई लागेको थियो हामी सर्वोच्च अदालतमा जित्नेछौँ। तर, हामीले अन्यायपूर्ण निर्णय पायौँ। त्यसैले अहिले हामी यो समस्याको समाधान अर्को तरिकाबाट गर्दैछौँ।”

हाल अमेरिकी कानुनले बर्थ टुरिजम लाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन। तर, सन् २०२० देखि लागू नियमअनुसार बच्चालाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले पर्यटक वा व्यावसायिक भिसा प्रयोग गरेर अमेरिका जान भने अनुमति छैन।

– डीडब्ल्यू

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस