२०८३ श्रावण २२ गते, शुक्रबार ११:२८

तेल चोरीको आरोपमा सौदागर पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँसहित सात जना पक्राउ

वीरगन्ज

सरकारी इन्धन चोरी गरेको आरोपमा पर्सा प्रहरीले वीरगन्जस्थित सौदागर पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँसहित सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर पेट्रोल पम्पमा सरकारी इन्धन चोरी भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा वीरगन्जको अलौं–सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी)बाट बिहीबार साँझ जाँचपास गरी बाहिरिएको ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भइरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्ल अनुसार ट्याङ्करबाट इन्धन निकालेर पेट्रोल पम्पको ट्याङ्कीमा हाल्ने क्रममा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सौदागर पेट्रोल पम्पका सञ्चालक वीरगन्ज महानगरपालिका–३ निवासी सुनैन मियाँ, लेखापाल वीरगन्ज–१५ निवासी अपलम हवारी, क्यासियर वीरगन्ज–११ निवासी रफिक मियाँ, ना ७ ख १५३९ नम्बरको ट्याङ्करका चालक हेटौंडा उपमहानगरपालिका–१४ निवासी मन्द सिंह लामा, सहचालक उमेश राना मगर, ना ७ ख २८०४ नम्बरको ट्याङ्करका चालक हेटौंडा–१० निवासी राकेशराम सुनुवार तथा सहचालक हेटौंडा–११ निवासी सन्देश राना मगर रहेका छन्।

प्रहरीका अनुसार घटनास्थलमा ना ७ ख २८०४ नम्बरको अर्को ट्याङ्कर पनि उपस्थित रहेको र त्यसका चालक तथा सहचालकको समेत चोरीमा संलग्नता देखिएपछि उनीहरूलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानबाट आईसीपीबाट काठमाडौंतर्फ पठाइएको हवाई इन्धन (एभिएसन फ्युल) सौदागर पेट्रोल पम्पको ट्याङ्कीमा खन्याउने प्रयास भएको खुलेको प्रहरीले जनाएको छ।

नेपाल आयल निगमले निर्धारण गरेको हालको मूल्यअनुसार हवाई इन्धनको प्रतिलिटर मूल्य पेट्रोल वा डिजेलको तुलनामा रु. ५१.५० बढी रहेको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनामा पक्राउ परेकाहरूलाई छुटाउन प्रभावशाली व्यक्तिहरूले पहल गरिरहेको दाबी केही प्रहरी स्रोतले गरेका छन्। यद्यपि, यसबारे प्रहरीले औपचारिक रूपमा कुनै पुष्टि गरेको छैन।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस