२०८३ श्रावण २२ गते, शुक्रबार १२:३४

२५० रुपैयाँको किनमेलले दिलायो १० लाख ! शिव कृष्ण जनरल स्टोरका ग्राहक बने पहिलो बम्पर विजेता

काठमाडौं

केवल २५० रुपैयाँको सामान खरिद गरेर सक्कली बिल लिएका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत सार्वजनिक गरिएको पहिलो बम्पर नतिजामा शिव कृष्ण जनरल स्टोरबाट खरिद गरेका उपभोक्ता भाग्यशाली बनेका हुन्।

आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाको नतिजा सार्वजनिक गर्दै कुपन नम्बर ००७ ३१५ २५४ ४९३ ले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेको जानकारी दिएको हो। यससँगै अन्य १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्।

सरकारले यो योजना उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्ने, कर छली नियन्त्रण गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको हो। उपभोक्ताले बिल माग्ने र व्यवसायीले अनिवार्य रूपमा बिल जारी गर्ने संस्कृतिको विकास भएमा राजस्व संकलनसमेत बढ्ने सरकारको विश्वास छ।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेको यो कार्यक्रम कार्यान्वयनमा आइसकेको छ। कार्यविधिअनुसार हरेक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार र १५ जनालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।

उपहार योजनामा सहभागी हुन नगद भुक्तानी गरी नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्दा प्राप्त सक्कली बिल सम्बन्धित वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

यस्तै, क्यूआर कोडमार्फत गरिएको १०० रुपैयाँभन्दा बढीको कारोबार भने प्रणालीमै स्वतः समावेश हुने भएकाले छुट्टै बिल दर्ता गर्न आवश्यक पर्दैन। उपभोक्ताले आफ्नो डिजिटल कारोबारको विवरण सुरक्षित राखेमा सोही ट्रान्स्याक्सन नम्बर उपहार योजनाका लागि योग्य हुनेछ।

आन्तरिक राजस्व विभागका अनुसार यो कार्यक्रमको मुख्य लक्ष्य करदाताको दायरा विस्तार गर्नु, बिल लिने संस्कृतिलाई संस्थागत गर्नु र राजस्व प्रणालीलाई थप सुदृढ बनाउनु हो। विभागले सबै उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र उपहार योजनामा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस