काठमाडौं –
। जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण (इन्टेरियर)को काम जारी छ ।
पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।
पहिलो चरणमा २७ मध्ये ११ वटा र दोस्रो चरणमा बाँकी १६ वटा भवनको पुनर्निर्माण गर्नेगरी गत वर्ष नै ठेक्का सम्झौता भएको थियो ।
११ वटा भवन कामका लागि आठ करोड ६० लाख र बाँकी १६ वटाका भवनको पुननिर्माणका लागि १५ करोड ४९ लाखमा सम्झौता भएको थियो । यसबाहेक भवनको भित्री सजावट, फर्निसिङलगायत कामका लागि करिब १५ करोड रुपैयाँमा सम्झौता भएको थियो ।
पहिलो चरणको काम साउन मसान्तसम्म, दोस्रो चरणको काम भदौ २० सम्म र तेस्रो चरणको काम असोज मसान्तसम्म सक्नुपर्ने सम्झौता रहेको इन्जिनियर भुजेलले बताए ।
तीनवटै चरणको काम समयमै सकिएमा मन्त्रीहरूले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउनेछन् ।
वर्तमान सरकारका कतिपय मन्त्री निजी निवासमा बसेका छन् भने कतिपयले आफैं वैकल्पिक व्यवस्था गरेका छन् ।
पुल्चोकस्थित पुरानो मन्त्री आवास साँघुरो भएपछि सरकारले २०७६ सालमा भैँसेपाटीमा नयाँ मन्त्री आवास निर्माण थालेको थियो । करिब तीन अर्ब लगानीमा निर्मित भवनमा २०८२ असारदेखि मन्त्रीहरू सर्न थालेका थिए । तर, प्रयोगमा आएको एक वर्षमै आन्दोलनमा सबै भवनमा आगजनीले क्षति पुगेको थियो ।











