२०८३ श्रावण २३ गते, शनिबार ११:१२

२३ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं –

देशका विभिन्न भागमा वर्षा सक्रिय भएसँगै २३ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले साना नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भन्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबार बिहान जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार देशका प्रमुख तथा मझौला नदीमा बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि केही जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीमा हाल जलसतह सामान्य अवस्थामा छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव सतर्कता तहभन्दा तल रहेको छ।

तर ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक हुँदै बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङ आसपासका साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

नदी किनारमा बस्नेले के सावधानी अपनाउने?

साना नदी तथा खोलामा बाढी अचानक आउन सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दाले सामान्य अवस्थामा नदीको बहाव कम देखिए पनि लापरबाही नगर्न विज्ञहरूले आग्रह गरेका छन्।

विशेषगरी नदी, खोला तथा खोल्साको किनारमा रहेका बस्तीका बासिन्दाले रातिको समयमा नदीको बहाव बढेमा सुरक्षित र अग्लो स्थानतर्फ तत्काल सर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई एक्लै बाहिर नछाड्न र बाढी आएको खोला तथा नदी पार गर्ने प्रयास नगर्न आग्रह गरिएको छ।

त्यसैगरी पैदलयात्रु तथा सवारी चालकले डुबान भएका सडक, पुल तथा कल्भर्टबाट यात्रा नगर्न, पानीको सतह बढेको स्थानमा सवारी साधन नचलाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नुपर्नेछ।

घर आसपासका नाला तथा पानी निकास हुने मार्ग अवरुद्ध भए तत्काल सफा गर्ने, अत्यावश्यक कागजात तथा विद्युतीय उपकरण सुरक्षित स्थानमा राख्ने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने खानेपानी, औषधि, टर्चलगायत सामग्री तयारी अवस्थामा राख्न पनि सावधानी अपनाउनुपर्नेछ।

आगामी दुई दिन पनि जोखिम

महाशाखाका अनुसार भोलि र पर्सि पनि कोशी र गण्डकी प्रदेश भएर बहने केही साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने सम्भावना छ।

यसकारण आगामी केही दिन नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्नेले मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न र जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ।

बाढीको जोखिम भएका क्षेत्रमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय गरी पूर्वतयारी अवस्थामा रहनुपर्नेमा पनि जोड दिइएको छ। बाढी आउनुअघि अपनाइएको सामान्य सावधानीले ठूलो जनधनको क्षति रोक्न सक्ने भएकाले नदी किनारका बासिन्दाले जोखिमलाई हल्का रूपमा नलिन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस