२०८३ श्रावण २५ गते, सोमबार १०:३३

मधेस प्रदेशमा बढ्दै सर्पदंशका बिरामी, तीन वर्षमा २९ प्रतिशत वृद्धि

वीरगन्ज-

मधेस प्रदेशमा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। सर्पले डसेका बिरामीको सबैभन्दा बढी उपचार हुने वीरगन्जस्थित नारायणी अस्पतालमा पछिल्लो तीन वर्षमा सर्पदंशका बिरामीको संख्या करिब २९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाका साथै सीमावर्ती भारतीय सहरबाट आउने सर्पदंशका बिरामीको उपचारका लागि नारायणी अस्पताल प्रमुख उपचार केन्द्रका रूपमा रहेको छ।

अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ३ सय ५६ जना बढी सर्पदंशका बिरामी अस्पतालमा भर्ना भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा १ हजार २ सय २८ जना सर्पदंशका बिरामी भर्ना भएकामा आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर १ हजार ५ सय ८५ पुगेको अस्पतालले जनाएको छ।

समीक्षा अवधिमा भर्ना भएका बिरामीमध्ये ४६ जनालाई विषालु सर्पले डसेको थियो। उनीहरूको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको अस्पतालले जनाएको छ। गत आर्थिक वर्षमा भने भर्ना भएका बिरामीमध्ये ६४ जनालाई विषालु सर्पले डसेको थियो र उनीहरू पनि गम्भीर अवस्थामा अस्पताल आएका थिए।

समीक्षा अवधिमा सर्पदंशका कारण कुनै पनि बिरामीको मृत्यु नभए पनि गत आर्थिक वर्षमा उपचारका क्रममा एक जना ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट उपचारका लागि अस्पताल ल्याउने क्रममा भएको ढिलाइका कारण ती महिलाको शरीरमा विष फैलिसकेको र चिकित्सकको प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको अस्पतालका कर्मचारीले बताएका छन्।

समीक्षा अवधिको तुलनामा गत आर्थिक वर्षमा विषालु सर्पको डसाइका बिरामीको संख्या करिब ४ प्रतिशत बढी रहेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार विषालु सर्पले डसेपछि समयमै अस्पताल पुर्‍याइएका बिरामीको ज्यान जोगाउन खासै समस्या हुँदैन। तर, महत्वपूर्ण समय खेर फालेर ढिलो अस्पताल आउने बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ।

सर्पदंशका बिरामीको उपचारका लागि नेपाल सरकारले समीक्षा अवधिमा उपलब्ध गराएको ९ सय १० भाइल एण्टिस्नेक भेनम सबै प्रयोग भएको सूचना अधिकारी सिंहले बताउनुभयो। गत आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको १ हजार २ सय २१ भाइलमध्ये १ हजार १ सय ३६ भाइल एण्टिस्नेक भेनम बिरामीको उपचारमा प्रयोग भएको उहाँले जानकारी दिनुभयो।

नारायणी अस्पतालमा गोमन, करेत, बाघे सर्प (रसेल्स भाइपर) तथा हरियो पिट भाइपरलगायत विषालु सर्पले डसेका गम्भीर अवस्थाका बिरामी उपचारका लागि आउने गरेका छन्।

चिकित्सकका अनुसार करेत सर्पको डसाइ विशेष जोखिमपूर्ण मानिन्छ। करेतले डसेपछि सुरुमा खासै लक्षण नदेखिन सक्छ। तर, लक्षण देखिन थालेपछि बिरामीको स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रँदै जाने भएकाले समयमै उपचार नपाए ज्यान जाने जोखिम उच्च हुन्छ।

गोमनको विषको असर तुलनात्मक रूपमा चाँडै देखिने र समयमै उपचार पाए बिरामी निको हुने सम्भावना बढी हुन्छ। तर, करेतको विषको असर सुरुमा कम देखिए पनि पछि गम्भीर हुँदै जाने भएकाले करेतको डसाइलाई चिकित्सकहरूले बढी जोखिमपूर्ण मान्ने गरेका छन्।

चिकित्सकहरूले सर्पले डसेको शंका लागेमा घरेलु उपचार, झारफुक वा ढिलो गर्नेभन्दा तुरुन्तै नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्‍याउन आग्रह गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस