वीरगन्ज–
मधेस प्रदेशमा बढ्दो लागूऔषध ओसारपसार तथा बिक्री–वितरण नियन्त्रण गर्न नेपाल प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। प्रहरीले लागूऔषध कारोबार हुने सम्भावित स्थानमा निगरानी बढाउँदै अभियानकै रूपमा कारबाही अघि बढाइरहेका बेला रौतहटमा खाजा घरको आवरणमा गाँजाको कारोबार भइरहेको खुलेको हो।
रौतहट सदरमुकाम गौरमा खाजा घर सञ्चालन गरेर गाँजाको प्याकिङ तथा बिक्री–वितरण गर्दै आएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभनारायण साह रहेका छन्। साहले गौर नगरपालिका–३ मा ‘काजल स्टील रेलिङ्ग’ नामबाट खाजा घर सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार खाजा घरमा सानो–सानो पुरीया बनाएर गाँजा बिक्री–वितरण हुने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा खाजा घरको काउन्टरको च्याँकभित्र कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिक्रीका लागि तयार पारिएका १ सय २५ वटा पुरीयाबाट कुल ७ सय ग्राम गाँजा बरामद गरिएको छ।
गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिनुभयो।
मधेस प्रदेशमा भारतसँगको खुला सीमाका कारण लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै आएको छ। यही चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले सीमा क्षेत्र, बजार, सार्वजनिक स्थल तथा शंकास्पद गतिविधि हुने स्थानमा निगरानी र जाँचलाई कडाइ गर्दै आएको जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध कारोबारीले परम्परागत रूपमा प्रयोग हुने स्थानबाहेक खाजा घर, होटल तथा अन्य व्यवसायिक प्रतिष्ठानलाई समेत कारोबारको माध्यम बनाउन सक्ने भएकाले त्यस्ता स्थानमाथि विशेष निगरानी बढाइएको छ।
प्रहरीले लागूऔषधको ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि सूचना संकलन, निगरानी र कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाउने जनाएको छ।











