२०८३ श्रावण २६ गते, मंगलवार ०८:३९

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृतक संख्या १११ पुग्यो, उद्धार जारी

काठमाडौं –

कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्। भूकम्पका कारण सयौँ भवनमा क्षति पुगेको र भग्नावशेषमा मानिसहरू फसेको आशंकामा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ।

अगस्ट १० मा गएको भूकम्पलाई कोलम्बियाली भूगर्भसम्बन्धी अधिकारीहरूले यस शताब्दीमा देशमा गएको सबैभन्दा शक्तिशाली भूकम्पका रूपमा वर्णन गरेका छन्। भूकम्पको केन्द्रबिन्दु पश्चिमी चोको प्रान्तको सान होसे डेल पाल्मार आसपास रहेको थियो। यसको धक्का राजधानी बोगोटासहित कोलम्बियाका विभिन्न क्षेत्रमा तथा छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो।

पेरिरा र कालीमा ठूलो क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये रिसाराल्डा प्रान्तको पेरिरा र भाये डेल काउका क्षेत्र रहेका छन्। पेरिरामा मात्रै ४० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। भाये डेल काउका क्षेत्रमा २७ जनाको मृत्यु भएको बताइएको छ भने कालीमा पनि ठूलो भौतिक क्षति भएको छ। चोको क्षेत्रमा १२ र मनिजालेसमा दुई जनाको मृत्यु पुष्टि भएको पछिल्लो विवरणमा उल्लेख छ।

कालीमा करिब ३० वटा भवन भत्किएको र केही भवनमा मानिस फसेको आशंकामा उद्धारकर्मीले भग्नावशेष हटाएर खोजी गरिरहेका छन्। स्थानीय उद्धारकर्मी तथा सर्वसाधारणसमेत खोजी कार्यमा खटिएका छन्।

भूकम्पबाट करिब १ हजार ६ सय संरचनामा क्षति पुगेको छ। तीमध्ये कम्तीमा ६१ वटा संरचना पूर्ण रूपमा भत्किएका छन्। अस्पताल, स्वास्थ्य केन्द्र, विद्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ। मनिजालेसस्थित ऐतिहासिक क्याथेड्रलको एउटा टावरसमेत भूकम्पका कारण भत्किएको छ।

विमानस्थल र यातायात प्रभावित

भूकम्पपछि काली, पेरिरा, मनिजालेस, किब्डो, आर्मेनिया र कार्टागो लगायतका विमानस्थलमा संरचनात्मक क्षतिको मूल्यांकन गर्न उडान सेवा प्रभावित गरिएको थियो। दुर्गम चोको क्षेत्रमा सडक तथा अन्य यातायात पूर्वाधारमा समेत क्षति पुगेकाले उद्धार तथा राहत सामग्री पुर्‍याउन चुनौती देखिएको छ।

भूकम्पपछि विभिन्न शक्तिका पराकम्पसमेत महसुस भएका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रमा थप पराकम्प आउन सक्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

राष्ट्रव्यापी आपत्काल घोषणा

भर्खरै पदभार सम्हालेका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भूकम्पपछि राष्ट्रव्यापी आपत्काल घोषणा गर्दै उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिने बताएका छन्। यो उनको कार्यकालको पहिलो ठूलो राष्ट्रिय संकट बनेको छ। सरकारले प्रभावित परिवारलाई अस्थायी आवास, आर्थिक तथा स्वास्थ्य सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

सरकार तथा स्थानीय प्रशासनले भग्नावशेषमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकता दिएका छन्। सञ्चार तथा यातायात अवरुद्ध भएका दुर्गम क्षेत्रबाट क्षतिको पूर्ण विवरण प्राप्त हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सहयोग जुट्दै

भूकम्पपछि कोलम्बियालाई अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव आउन थालेको छ। अमेरिकाले राहत तथा मानवीय सहयोगका लागि १ करोड ५५ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। फ्रान्स, इक्वेडर, मेक्सिको, ब्राजिललगायतका देशले पनि सहयोगको प्रस्ताव गरेका छन्। युरोपेली संघले ‘कपरनिकस’ भूउपग्रह सेवामार्फत विपद् व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ।

उद्धार तथा खोजी कार्य जारी रहेकाले भग्नावशेषबाट थप मानिस जीवितै उद्धार हुने आशा गरिएको छ। तर दुर्गम क्षेत्रमा क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले संकेत गरेका छन्।डीडब्ल्यू

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस