२०८३ श्रावण २६ गते, मंगलवार १०:४८

ग्रिन सिटी आदर्शनगरका अध्यक्ष खेतानमाथि महानगरको नर्सरीबाट बिरुवा चोरी गराएको आरोप

वीरगन्ज-

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानमाथि वीरगन्ज महानगरपालिकाको नर्सरीबाट विभिन्न जातका १२० थान बिरुवा चोरी गराएको आरोप लागेको छ।

महानगरपालिकाका कर्मचारीहरूले ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अटो चालक विश्वकर्म नाम गरेका व्यक्तिमार्फत अध्यक्ष खेतानले नर्सरीबाट बिरुवा झिकाएको आरोप लगाएका हुन्।

कर्मचारीका अनुसार गत साउन २१ गते आदर्शनगरस्थित महानगरपालिकाको नर्सरीबाट गुलमोहरका ५०, फोक्टेल पामका ४० र सतिसालका ३० गरी १२० थान बिरुवा बिना अनुमति निकालिएको थियो।

महानगरपालिकाको नर्सरीका संरक्षक राजु चौधरी र घटनाका प्रत्यक्षदर्शी कृष्ण दास सरभङले नर्सरीमा राखिएका बिरुवा अनुमति नलिई निकालेर लगिएको भन्दै लिखित रूपमा आरोप लगाएका छन्।

महानगरपालिकाका कर्मचारीहरूले नर्सरीबाट निकालिएका बिरुवा अध्यक्ष खेतानले आफ्नो प्रभाव बढाउन तथा समाजसेवीको छवि निर्माण गर्न प्रयोग गरेको आरोपसमेत लगाएका छन्।

तर, अध्यक्ष खेतानले भने आफूविरुद्ध लगाइएको आरोप राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्नुभएको छ। उहाँले आफू महानगरपालिकाको सरसफाइ तथा हरियाली कार्यक्रमको संयोजक रहेको र वीरगन्जका विभिन्न स्थानमा आफ्नै पहल तथा खर्चमा सयौँ बिरुवा रोप्दै आएको बताउनुभयो।

“आफ्नै निजी खर्चमा वीरगन्जका विभिन्न स्थानमा सयौँ बिरुवा रोप्ने व्यक्तिले १२० थान बिरुवा चोरी गर्न लगाउँछ भन्ने आरोप नै राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रेरित छ,” खेतानले भन्नुभयो।

यसैबीच, महानगरपालिकाका कर्मचारीहरूले साउन २१ गते नर्सरीबाट निकालिएका भनिएका बिरुवा त्यसको भोलिपल्टै वीरगन्ज महानगरपालिका–१ छपकैयास्थित बबिता पराजुली आधारभूत विद्यालय र छठघाट परिसरमा वृक्षारोपण गरिएको दाबी गरेका छन्।

कर्मचारीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा ग्रिन सिटीको सहकार्यमा गरिएको उक्त वृक्षारोपण कार्यक्रममा नर्सरीबाट लगिएका बिरुवा प्रयोग गरिएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस