२०८३ श्रावण २६ गते, मंगलवार १४:०१

शिक्षामा वडा अध्यक्ष आशुतोषको जोड: खल्वाटोलामा रु. ४० लाखको लागतमा निर्मित विद्यालय भवनको गरे उद्घाटन

वीरगन्ज

वीरगन्ज महानगरपालिका वडा नम्बर २५, खल्वाटोला श्रीसियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नवनिर्मित दुई कोठे भवनको मङ्गलबार एक विशेष कार्यक्रमका बीच भव्य उद्घाटन गरिएको छ। वडा नम्बर २५ का लोकप्रिय वडा अध्यक्ष आशुतोष चतुर्वेदीले रिबन काटेर उक्त नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको हो।

​भवनको उद्घाटन गर्दै वडा अध्यक्ष चतुर्वेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारका लागि आफू निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायको साझा प्रयास तथा योगदानले मात्रै सामुदायिक विद्यालयको स्तर उन्नति सम्भव हुने धारणा राख्नुभयो।

​आफ्नो कार्यकालमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको स्पष्ट पार्दै अध्यक्ष चतुर्वेदीले भन्नुभयो, “यस विद्यालयको भौतिक विकासका लागि मैले विभिन्न चरणमा घेराबार (बाउन्ड्री वाल) निर्माण गराएको छु भने अहिले करिब ४० लाख रुपैयाँको लागतमा बाल शिक्षाका लागि व्यवस्थित कक्षाकोठा निर्माण सम्पन्न भएको छ। पूर्वाधारको जग मजबुत भइसकेकाले अब विद्यालय प्रशासनले कुनै पनि अभावको बहाना बनाएर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाबाट वञ्चित गर्न पाउँदैन।”

​आफ्नो वडाभित्र रहेका तीनवटै विद्यालयहरूको शैक्षिक तथा भौतिक अवस्थामा आफ्नो कार्यकालमा ऐतिहासिक सुधार र स्तरवृद्धि गरिएको दाबी गर्दै उहाँले सबै पक्ष मिलेर विद्यालयको चौतर्फी विकासमा लाग्न आग्रह गर्नुभयो। शिक्षाको विकास बिना वडाको समग्र विकास अधुरो रहने भन्दै उहाँले आगामी दिनमा पनि विद्यालयहरूको आवश्यकता अनुसार सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।

​शिवजी साह कानुको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा वडाका सम्पूर्ण कार्यसमिति सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीहरू तथा स्थानीय बुद्धिजीवी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्मित भवन बनेसँगै बालबालिकाहरूलाई पठनपाठनमा ठूलो सहजता पुग्ने भन्दै स्थानीयहरूले वडा अध्यक्ष चतुर्वेदीको विकासप्रेमी कदमको प्रशंसा गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस