काठमाडौँ–
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६ महिना लामो विदेश बसाइ र उपचारपछि भोलि (बिहीबार) स्वदेश फर्कने भएका छन्। नेपाली कांग्रेसको संस्थापन इतर समूहले देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य तयारी गरेको छ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो १२:३० बजे थाई एयरको उडानमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।
संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि विमानस्थलमा सांस्कृतिक झाँकी र बाजागाजा प्रस्तुत गरिने जानकारी दिइन्।
गत फागुन १३ गते राति जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि सिङ्गापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी चैत ७ गते सिङ्गापुरबाट हङ्कङ पुगेका थिए। ६ महिनाको उपचारपश्चात् उनी पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेका हुन्।
शुक्रबारदेखि सुरु हुने राष्ट्रिय भेलामा सहभागी हुने
स्वदेश फर्किएलगत्तै देउवा शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।
प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार तीन दिनसम्म चल्ने उक्त भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ। भेलामा देशभरका करिब ५ हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको छ।











