काठमाडौं –
जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको बागडोलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघले उनको रिहाइको माग गर्दै विरोध जनाएको छ। महासंघले आज जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय अगाडि धर्ना दिने भएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई धर्नामा सहभागी हुन महासंघले आह्वान गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै पत्रकार श्रेष्ठको रिहाइका लागि धर्नामा सहभागी हुन आग्रह गरेका हुन्। महासंघले श्रेष्ठको पक्राउसँगै जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासीप्रति समेत आपत्ति जनाएको छ।
प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको भोलिपल्ट बिहान जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको थियो। त्यसको विरोधमा महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले बुधबार राति नै जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि प्रदर्शन गरेको थियो।
महासंघले पत्रकारलाई समाचार लेखेकै आधारमा दण्डित गर्ने वा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य स्वीकार्य नहुने जनाएको छ। श्रेष्ठलाई विनासर्त रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत महासंघले दिएको छ।
यता, प्रहरीले भने श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कानुन उल्लंघनको आरोपमा जाहेरी परेको र सोही आधारमा कानुनी प्रक्रियाअनुसार पक्राउ गरी अनुसन्धान अघि बढाइएको स्पष्ट पारेको छ।












