काठमाडौं-
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी पर्दा स्वास्थ्य उपचारमा ९० प्रतिशतसम्म सहुलियत पाउने व्यवस्था भए पनि जानकारीको अभाव र झन्झटिलो प्रक्रियाका कारण ठूलो संख्यामा विद्यार्थी यो सुविधाबाट वञ्चित भइरहेका छन्।
विश्वविद्यालयले वर्षौंदेखि सञ्चालन गर्दै आएको ‘विद्यार्थी स्वास्थ्य उपचार कोष’ अधिकांश विद्यार्थीका लागि अझै अपरिचितजस्तै छ। क्याम्पसमा भर्ना हुँदा स्वास्थ्य उपचार कोषका लागि शुल्क तिरे पनि उक्त रकमबाट आफूले पाउने सुविधा र त्यसका लागि अपनाउनुपर्ने प्रक्रियाबारे विद्यार्थीलाई पर्याप्त जानकारी नहुँदा उपचारमा पाउने सहुलियतसमेत उपयोग हुन सकेको छैन।
त्रिविको ‘विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ अनुसार त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र तथा सम्बन्धित शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थी कोषका अनिवार्य सदस्य हुन्छन्। स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले तोकिएको प्रक्रियाबाट उपचारमा सहुलियत लिन सक्छन्।
शुल्क तिरे पनि सुविधाबारे विद्यार्थी नै अनभिज्ञ
क्याम्पसमा भर्ना हुँदा विद्यार्थीबाट स्वास्थ्य उपचार कोषमा जम्मा हुने गरी ५०० रुपैयाँ शुल्क लिइन्छ। स्नातक तथा स्नातकोत्तर तहमा भर्नाका साथै तोकिएको सेमेस्टर वा शैक्षिक वर्षमा समेत यस्तो शुल्क लिने व्यवस्था छ।
तर, आफूले तिरेको शुल्क कुन प्रयोजनका लागि हो र त्यसबाट कस्तो सुविधा प्राप्त हुन्छ भन्नेबारे धेरै विद्यार्थी अनभिज्ञ छन्। यही जानकारीको अभावका कारण बिरामी पर्दासमेत विद्यार्थी निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य हुने गरेका छन्।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार विद्यार्थीले तोकिएको प्रक्रियाबाट स्वास्थ्य उपचार गर्दा स्वीकृत उपचार खर्चको ९० प्रतिशतसम्म कोषबाट व्यहोर्ने व्यवस्था छ। उपचार खर्चको सीमा पछिल्लो निर्णयअनुसार अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ।
सुविधा लिन पनि क्याम्पसदेखि अस्पतालसम्म धाउनुपर्ने
स्वास्थ्य उपचार सुविधा लिन विद्यार्थीले सुरुमा सम्बन्धित क्याम्पसमा निवेदन दिनुपर्छ। क्याम्पसले त्रिविको सम्बन्धित निर्देशनालयमा सहुलियतका लागि सिफारिस गर्न अनुरोध गर्छ। निर्देशनालयले अस्पताललाई सिफारिस गरेपछि मात्र अस्पतालबाट उपचार सहुलियतको प्रक्रिया अघि बढ्छ।
सिफारिस स्वीकृत भएपछि औषधि तथा खानाबाहेक स्वीकृत उपचार खर्चमा ९० प्रतिशतसम्म छुट पाउने व्यवस्था छ। उपचारका क्रममा सिफारिसपत्र लिन नसकेका विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी सुविधा लिन सक्ने व्यवस्था पनि छ।
सिफारिसपत्रको प्रतिलिपि र वैध विद्यार्थी परिचयपत्रको दुई प्रति फोटोकपीसहित सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने प्रावधानले समेत विद्यार्थीलाई प्रक्रियागत झन्झट थपेको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर आएका विद्यार्थीलाई सुविधाबाट वञ्चित नगरिए पनि यसबारे जानकारी लिएर आउने विद्यार्थीको संख्या निकै कम छ।
६० अस्पतालमा उपचार सुविधा
त्रिविको विद्यार्थी स्वास्थ्य उपचार कोषअन्तर्गत देशका विभिन्न स्थानमा तोकिएका करिब ६० वटा अस्पतालबाट उपचार सुविधा लिन सकिने व्यवस्था छ। काठमाडौं उपत्यकाका विद्यार्थीले त्रिवि शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय आयुर्वेद शिक्षण अस्पतालबाट समेत सुविधा लिन सक्छन्।
उपत्यकाबाहिरका आंगिक क्याम्पसले सम्बन्धित जिल्ला अस्पताल वा विद्यार्थीलाई पायक पर्ने अस्पतालसँग सम्झौता गरी सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
तोकिएका अस्पतालमा उपचार सम्भव नभए मेडिकल बोर्डको सिफारिसमा नेपालकै अन्य अस्पताल वा आवश्यक अवस्थामा विदेशमा समेत उपचार गराउन सकिने व्यवस्था रहेको त्रिविले जनाएको छ।
सबै उपचारमा भने सुविधा पाइँदैन
कोषबाट सबै प्रकारका उपचार खर्च व्यहोर्ने व्यवस्था छैन। गर्भवती तथा सुत्केरीसम्बन्धी खर्च, सामान्य स्वास्थ्य परीक्षण, अंग प्रत्यारोपण, कस्मेटिक उपचार, चस्मा तथा लेन्स र श्रवण उपकरण खरिदमा कोषबाट सुविधा उपलब्ध हुँदैन।
क्याम्पसमा भर्ना हुनुअघि नै पहिचान भएको दीर्घरोगको उपचारका लागि मात्र भर्ना भएको प्रमाणित भएमा पनि विद्यार्थीले यो सुविधा लिन नपाउने व्यवस्था छ।
उपयोग गर्ने विद्यार्थीको संख्या बढ्दै
त्रिवि विद्यार्थी स्वास्थ्य उपचार कोषबाट उपचार सुविधा लिने विद्यार्थीको संख्या पछिल्ला वर्षमा बढ्दै गएको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०७५/७६ मा २१९ विद्यार्थीले उपचार सुविधा लिएका थिए। २०७६/७७ मा १९५ र २०७७/७८ मा १०२ विद्यार्थीले यस्तो सुविधा लिए। त्यसपछि २०८०/८१ मा ३८४, २०८१/८२ मा ५७३ र २०८२/८३ मा ५१४ विद्यार्थीले स्वास्थ्य उपचार खर्च लिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ९१ विद्यार्थीले सुविधा लिइसकेका छन्।
तर त्रिविमा अध्ययनरत विद्यार्थीको कुल संख्या र उपलब्ध सुविधाको तुलनामा यो संख्या अझै न्यून रहेको देखिन्छ। सुविधा लिने विद्यार्थीको संख्या बढ्दै गए पनि ठूलो संख्याका विद्यार्थी अझै यसबारे अनभिज्ञ रहेको त्रिविका अधिकारीहरू बताउँछन्।
अभिमुखीकरणमै जानकारी दिनुपर्नेमा बेवास्ता
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्वास्थ्य उपचार सुविधाबारे विद्यार्थीलाई जानकारी गराउन सम्बन्धित क्याम्पसहरूलाई पटक–पटक पत्राचार गर्दै आएको जनाएको छ। सूचना बोर्डमा समेत सुविधा र प्रक्रियाबारे जानकारी राख्न निर्देशन दिइए पनि सबै क्याम्पसले प्रभावकारी रूपमा कार्यान्वयन नगरेको गुनासो छ।
त्रिविका प्रवक्ता नवीन भण्डारीका अनुसार नयाँ विद्यार्थीलाई क्याम्पसमा भर्ना हुनेबित्तिकै अभिमुखीकरणका क्रममा स्वास्थ्य उपचार सुविधाबारे जानकारी गराउन आवश्यक छ।
उनका अनुसार विद्यार्थीले क्याम्पसबाट सिफारिस लिएर मात्र प्रक्रिया अघि बढाउनुपर्ने भएकाले सुविधा उपलब्ध गराउन सम्बन्धित क्याम्पसको भूमिका महत्वपूर्ण हुन्छ।
विश्वविद्यालयले विद्यार्थीबाट स्वास्थ्य उपचारका लागि शुल्क उठाउने तर त्यसबाट प्राप्त हुने सुविधाबारे पर्याप्त जानकारी नदिँदा विद्यार्थीले आफ्नो अधिकारसमेत उपयोग गर्न नसकेको अवस्था देखिएको छ। त्यसैले क्याम्पस तहबाटै सरल भाषामा सुविधा, उपचारको सीमा, सम्बन्धित अस्पताल र आवश्यक कागजातबारे जानकारी उपलब्ध गराउने तथा सिफारिस प्रक्रिया सहज बनाउनेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने देखिन्छ।











