२०८३ श्रावण २८ गते, बिहीबार १९:४२

देउवाको अभिभावकीय भूमिकाले पार्टी एकता थप मजबुत हुने कांग्रेस नेताहरूको विश्वास

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए ।

उनले लामो समय उपचारका क्रममा विदेशमा रहेका देउवा स्वास्थ्यलाभ गरी स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टीको तर्फबाट स्वागत गरे । कांग्रेसको गरिमामय इतिहास निर्माणमा देउवाले पुर्याएको योगदान, त्याग, संघर्ष र अनुभवको पार्टीले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै चालिसेले आगामी दिनमा उहाँले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

‘उहाँ संस्थापन इतरभित्र होइन, सबैको साझा नेता हो,’ चालिसेले भने, ‘उहाँको अनुभवले आगामी दिनमा पार्टीलाई अभिभावकीय भूमिका प्रदान गर्नेछ ।’

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र फरक मत, दृष्टिकोण र कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको चालिसेको भनाइ छ । उनले प्रतिस्पर्धा पार्टी विधानको परिधिभित्र रहेर गर्नुपर्नेमा जोड दिँदै नीतिगत तथा सैद्धान्तिक रूपमा पार्टीभित्र भिन्नता नरहेको बताए ।

पार्टीभित्रको बहस र मतभिन्नताले नयाँ निष्कर्ष निकाल्न सहयोग गर्ने उल्लेख गर्दै उनले फरक मत राख्दा अनुशासन र पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘पार्टीमा न कसैले हार्छ, न कसैले जित्छ,’ उनले भने, ‘हाम्रो एकता नै हाम्रो शक्तिको आधार हो ।’

देउवा स्वदेश फर्किएको दिन पार्टीको बैठक जारी रहेकाले उनलाई स्वागत गर्न आफूहरू उपस्थित हुन नसकेको विषयलाई राजनीतिक रूपमा नलिन पनि चालिसेले आग्रह गरे । बैठक प्राविधिक कारणले निरन्तर चलिरहेको र त्यसलाई स्थगित गरेर जान समय सान्दर्भिक नभएको उनको स्पष्टीकरण थियो ।

चालिसेले देउवासँग भेटवार्ता गरी स्वास्थ्यलाभको शुभकामना दिने र आवश्यक रायसल्लाह लिने पनि बताए । देउवाले पार्टीलाई एकताबद्ध राख्न अग्रज नेताका रूपमा आफ्नो कर्तव्य पूरा गर्ने विश्वास उनले व्यक्त गरे ।

यसैबीच, कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि देउवा स्वदेश फर्किएको विषय पार्टीका लागि सुखद भएको बताए । उनले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै उनको उपस्थितिले पार्टीभित्र देखिएका समस्या समाधान गर्न र पार्टीलाई एकीकृत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

देउवाको स्वदेश आगमनले पार्टीलाई एकीकृत बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै पौडेलले पूर्वसभापति पार्टीका अभिभावक भएकाले उहाँले कुनै समूहको पक्षमा नभई समग्र पार्टीको पक्षमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

‘उहाँ कसैको पक्षमा उभिएर होइन, पार्टीको पक्षमा उभिएर पार्टीलाई संगठित र एकीकृत गर्ने सन्दर्भमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ पौडेलले भने ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस