२०८३ श्रावण २८ गते, बिहीबार १९:४२

जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ

जनआस्था साप्ताहिक एवं जनआस्था डटकमका प्रधान सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन विपरीतको कसुरमा जाहेरी दर्ता भएपछि सोही आधारमा नियन्त्रणमा लिइएको हो।

के थियो घटना?

गएको साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। उक्त समाचारमा नाम जोडिएकी युवतीले आफ्नो वैयक्तिक गोपनीयता भङ्ग गरिएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा श्रेष्ठमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। यता समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै उनको तत्काल रिहाइको माग राखेर पत्रकार सम्बद्ध विभिन्न संघ-संस्थाहरूले विरोध प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस