२०८३ श्रावण २९ गते, शुक्रबार २०:२९

व्यावसायिक प्रहरी सेवा र सीमापार अपराध नियन्त्रणमा एस.पी भट्टराईको जोड

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सबै पक्षको क्षेत्राधिकारको सम्मान गर्दै पर्सा प्रहरीले व्यावसायिक मर्यादा कायम राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हालेपछि पहिलोपटक शुक्रबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै एसपी भट्टराईले जनताको जिउधनको सुरक्षा, शान्ति–सुरक्षा कायम तथा कानुनी शासनको सुदृढीकरणलाई प्राथमिकतामा राखे प्रहरीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए।

पर्सा खुला सीमासँग जोडिएको सीमावर्ती जिल्ला भएकाले यहाँ तस्करी, सीमापार अपराधलगायतका चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रणमा प्रहरीले व्यावसायिक र प्रभावकारी ढंगले काम गर्ने बताए।

खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी तथा अन्य क्रसबोर्डर अपराध नियन्त्रण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने उनको भनाइ थियो। अपराधसँग सम्बन्धित सूचना समयमै प्रहरीलाई उपलब्ध गराएर सहयोग गर्न उनले सर्वसाधारणलाई आग्रह गरे।

अन्तरक्रियामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै एसपी भट्टराईले सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणमा स्थानीय नागरिकको सहयोग महत्वपूर्ण हुने बताए। अपराध तथा शंकास्पद गतिविधिबारे समयमै सूचना प्राप्त भए प्रहरीले प्रभावकारी रूपमा नियन्त्रण तथा अनुसन्धान अघि बढाउन सक्ने उनको भनाइ थियो।

प्रहरी प्रशासनले शान्ति–सुरक्षा कायम गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले सामाजिक सद्भाव, अमनचयन र कानुनी शासन सुदृढ बनाउन प्रहरी, सञ्चारमाध्यम र नागरिकबीच सहकार्य तथा हातेमालो आवश्यक रहेको बताए।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले भने समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने वा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने प्रवृत्ति अन्त्य गर्न प्रहरी नेतृत्वको ध्यानाकर्षण गराए। नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, विश्व पत्रकार महासंघ एसिया प्रशान्तका सहसचिव दीपेन्द्र चौहान तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले पत्रकारिता स्वतन्त्र र निर्भीक रूपमा सञ्चालन हुने वातावरण बनाउन प्रहरी–प्रेस सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

पत्रकारहरूले विगतमा प्रहरी प्रशासनबाट सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने तथा समाचार लेखेकै विषयमा दबाब सिर्जना गर्ने घटना हुने गरेको गुनासो गर्दै त्यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन आग्रह गरे।

कार्यक्रममा प्रहरी र सञ्चारकर्मीबीच समन्वय, सूचना आदानप्रदान, पत्रकारको सुरक्षा तथा आपसी विश्वास अभिवृद्धि लगायतका विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस