काठमाडौं –
नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै छ ।
कांग्रेस नेताहरूका अनुसार बन्दसत्रमा पेस भएका विभिन्न प्रस्ताव आज सुझावसहित पास गर्ने र सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ ।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा ३० साउनदेखि सुरु भएको भेलालाई कांग्रेसले राष्ट्रिय सम्मेलनमा परिणत गरेको छ ।
करिब पाँच हजार जना सहभागी भएको भनिएको सम्मेलनको उदघाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए । शनिबारको बन्दसत्रका कार्यक्रममा भने देउवा सहभागी भएका थिएनन् ।
सम्मेलनको अन्तिम दिनको बन्दसत्रमा आज देउवा समेत उपस्थित भएका छन् ।
बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा। प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
ती प्रस्तावहरुमाथि सहभागीहरूले धारणा राख्ने र सुझाव दिने क्रम आज पनि जारी छ । सबै सुझावलाई समेटेर प्रस्तावहरुलाई अन्तिम रूप दिइने सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले बताए ।
प्रस्तावहरू पारित गरेपछि आजै सम्मेलन सम्पन्न हुने उनले जानकारी दिए ।












