वीरगन्ज-
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याविरुद्ध न्यायको माग गर्दै उनका आमाबुबा तथा परिवारले सडक नछाडेपछि वीरगन्ज–पथलैया सडकखण्ड लगातार तेस्रो दिन पनि अवरुद्ध भएको छ। बिहीबार राति सरकारी प्रतिनिधिसहित स्थानीयबीच भएको सहमतिलाई मृतक परिवारले अस्वीकार गरेपछि सडक खुलाउने प्रशासनको प्रयाससमेत सफल हुन सकेको छैन।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की गरिमाका आमाबुबा र परिवारले छोरीको हत्यामा संलग्नलाई कडा कारबाही र न्यायको माग गर्दै सडकमा धर्ना दिँदै आएका छन्। उनीहरूले आफूहरूको जानकारी र सहमतिबिना प्रशासनले राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय व्यक्तिसँग गरेको सहमति आफूहरूलाई मान्य नहुने बताएका छन्।
गरिमाका बुबा मनोज चौधरीले आफूहरूलाई थाहै नदिई गरिएको सहमतिमा आफ्नो परिवारको कुनै संलग्नता नरहेको बताए। उनले छोरीको बलात्कारपछि भएको क्रूर हत्याका दोषीलाई कडा कानुनी कारबाही हुनुपर्ने र मृत्युदण्डको व्यवस्था सुनिश्चित नभएसम्म आफूहरूले न्यायको अनुभूति नगर्ने बताए।
उनले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं आएर कानुन संशोधन तथा यस्ता घटनाका दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।
गरिमाको न्यायका लागि बुधबारदेखि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध हुँदै आएको हो। सडक अवरुद्ध हुँदा वीरगन्ज, पथलैया तथा पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
यसअघि घटना भएको विषयमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न उठाउँदै स्थानीयले उनको सरुवासहित विभिन्न माग राखेर आन्दोलन गरेका थिए। डीएसपी दिलीप क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानिएपछि प्रशासनले स्थानीयसँग पाँचबुँदे सहमति गरेको थियो।
तर, बिहीबार मध्यरातमा भएको उक्त सहमतिमा मृतक परिवारको सहभागिता तथा स्वीकृति नरहेको भन्दै उनीहरूले त्यसलाई अस्वीकार गरेका छन्।
सडक खुलाउन प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरे पनि स्थानीयले मृतक परिवारको सहमतिबिना बल प्रयोग गरेर सडक नखोल्न चेतावनी दिएका छन्। स्थानीयले सडक खुलाउन आफूहरू सकारात्मक रहे पनि त्यसअघि प्रशासनले गरिमाका आमाबुबासँग प्रत्यक्ष संवाद गरी उनीहरूको माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
गरिमाको हत्याविरुद्धको आन्दोलन लम्बिँदै जाँदा वीरगन्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित हुनुका साथै घटनालाई लिएर स्थानीयस्तरमा आक्रोशसमेत बढ्दै गएको छ।











