२०८३ भाद्र ८ गते, सोमबार ०९:४७

प्याजसहित हरियो तरकारीको भाउ आकासिँदा महँगियो सर्वसाधारणको भान्सा

वीरगन्ज –

प्याजसँगै हरियो तरकारीको मूल्यसमेत लगातार बढेपछि आम नेपालीको भान्सा महँगिँदै गएको छ । देशको आर्थिक राजधानी वीरगन्जसहित मधेशका बजारमा दैनिक उपभोग हुने तरकारीको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवारलाई घरखर्च धान्न थप कठिन भएको छ ।

पछिल्लो समय प्याजको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ भने अन्य हरियो तरकारीको मूल्यसमेत बढेको उपभोक्ताहरू बताउँछन् । चाडपर्व नजिकिँदै गर्दा तरकारीको मूल्य बढेपछि यसको प्रत्यक्ष असर गृहिणी, मजदुर, न्यून आय भएका परिवारदेखि होटल तथा खाजा व्यवसायीसम्म परेको छ ।

वीरगन्जका तरकारी बजारमा प्याजको मूल्य बढेपछि उपभोक्ताले यसको खपत घटाउन थालेका छन् । दैनिक तरकारी, अचार, चटपटे, पानीपुरी, समोसा तथा मासुका परिकारमा प्रयोग हुने प्याज महँगिएपछि आवश्यकताअनुसार मात्र खरिद गर्नुपर्ने अवस्था आएको उपभोक्ताको गुनासो छ ।

प्याजसँगै हरियो तरकारीको मूल्य बढ्दा भने सामान्य परिवारको दैनिक भान्सा व्यवस्थापन नै प्रभावित भएको छ । पहिले सहजै खरिद गर्ने परिमाणमा अहिले तरकारी किन्न नसकिएको र एउटै रकममा पहिलेभन्दा कम तरकारी आउने गरेको उपभोक्ताहरू बताउँछन् ।

वीरगन्जका साना होटल तथा खाजा पसल र सडकमा व्यापार गर्ने व्यवसायी पनि तरकारीको मूल्यवृद्धिबाट प्रत्यक्ष प्रभावित भएका छन् । चटपटे, पानीपुरी, समोसा तथा अन्य खाजाका परिकारमा प्रयोग हुने प्याज र हरियो तरकारीको लागत बढेपछि व्यवसायीले परिकारको मात्रा घटाउने वा मूल्य बढाउने अवस्था आएको बताएका छन् ।

पहिले प्रतिकिलो करिब ७० रुपैयाँमा पाइने प्याज अहिले एक सय रुपैयाँसम्म पुगेपछि व्यापार धान्न कठिन भएको व्यवसायीहरू बताउँछन् । कम पुँजीमा ठेला तथा सडकपेटीमा खाजा बिक्री गर्ने व्यवसायीलाई यसको असर अझ बढी परेको छ ।

आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलका अनुसार नेपाल प्याजका लागि करिब ९८ प्रतिशत भारतमा निर्भर छ । भारतमा उत्पादन घट्नु, आपूर्ति कमजोर हुनु र चाडपर्वका कारण माग बढ्नुले नेपाली बजारमा प्याजको मूल्य बढेको उनको भनाइ छ । भारतबाट नेपालसम्म प्याज ल्याउँदा ल्यान्डिङ कस्ट नै प्रतिकिलो करिब ७० रुपैयाँभन्दा बढी पर्न थालेको व्यवसायीको दाबी छ ।

भारतमा मूल्य थप बढेमा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । विशेषगरी भारतसँग सीमा जोडिएको मधेश प्रदेशका बजारमा मूल्यवृद्धिको प्रभाव तत्काल देखिने गरेको छ । भारतका नयाँदिल्ली, मुम्बई र कोलकातालगायत ठूला सहरमा प्याजको मूल्य प्रतिकिलो ५० देखि ६० भारतीय रुपैयाँसम्म पुगेको बताइएको छ ।

भारी वर्षाका कारण ढुवानीमा अवरोध, नयाँ बाली बजारमा आउन ढिलाइ, पुरानो मौज्दात घट्नु तथा चाडपर्वका बेला माग बढ्नु भारतमा प्याज महँगिनुका प्रमुख कारण मानिएका छन् । भारतमा आपूर्ति र मूल्य अवस्था अस्थिर रहे त्यसको असर नेपालमा समेत तत्काल पर्ने व्यवसायीहरू बताउँछन् ।

नेपालमा प्याज उत्पादन नगन्य हुने भएकाले भारतमाथिको अत्यधिक निर्भरता मूल्यवृद्धिको प्रमुख कारण बनेको छ । एकातर्फ ठूलो परिमाणमा प्याज आयात भइरहे पनि अर्कोतर्फ खुद्रा बजारमा मूल्य बढिरहेकाले आपूर्ति शृंखला र बजार व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालले भारतबाट १ करोड ७५ लाख १८ हजार ५६९ किलो प्याज आयात गरेको छ । यसको कुल आयात मूल्य ७१ करोड ८३ लाख ७ हजार रुपैयाँ बराबर रहेको छ भने सरकारले सोही आयातबाट ६ करोड ४६ लाख ७० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

ठूलो परिमाणमा प्याज आयात भइरहे पनि उपभोक्ताले सस्तो मूल्यमा खरिद गर्न नसक्नुले बजार व्यवस्थापनमाथि प्रश्न उठाएको छ । थोक मूल्य नै प्रतिकिलो एक सय रुपैयाँ नाघेमा खुद्रा मूल्य अझै बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ ।

उपभोक्ता अधिकारकर्मीहरूले चाडपर्वको मुखमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने सम्भावनाप्रति सरकार सचेत हुनुपर्ने बताएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले छोटो समयमै प्याजको मूल्य करिब ४० प्रतिशतसम्म बढ्नु सामान्य नभएको भन्दै प्रभावकारी बजार अनुगमन र मूल्य नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

वीरगन्जमा प्याजसहित हरियो तरकारीको मूल्य बढ्दै गए पनि बजार अनुगमन, नापतौल र मूल्य नियन्त्रण प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ । बजारमा सुपथ मूल्यमा गुणस्तरीय तरकारी उपलब्ध गराउने व्यवस्था गर्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनीहरूको माग छ ।

वीरगन्जका होटल व्यवसायीका अनुसार प्याज र हरियो तरकारीको मूल्यवृद्धिले सामान्य उपभोक्तादेखि साना व्यवसायीसम्मलाई असर परेको छ । चाडपर्वका बेला खाद्यान्न तथा तरकारीको माग बढ्ने भएकाले बजारमा प्रभावकारी अनुगमन नभए प्याजलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अझै बढ्ने जोखिम रहेको उनले बताए ।

तरकारीको मूल्यवृद्धिको सबैभन्दा ठूलो असर न्यून तथा सीमित आम्दानी भएका परिवारमा परेको छ । आम्दानी बढ्न नसक्ने तर दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहने अवस्थाले परिवारको बजेट असन्तुलित बन्न थालेको उपभोक्ताहरूको भनाइ छ ।

भारतमा आपूर्ति सहज नभए र नेपाल सरकारले बजार अनुगमन तथा आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसके आगामी चाडपर्वमा नेपाली उपभोक्ताको भान्सा थप महँगिने जोखिम देखिएको छ । वीरगन्जजस्तो प्रमुख व्यापारिक केन्द्रमै प्याजसहित हरियो तरकारीको मूल्य आकासिनुले यसको असर सीमावर्ती बजारमा मात्र नभई देशभरका सर्वसाधारणको भान्सासम्म पुगेको देखिन्छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस