काठमाडौं –
इरानमाथि अमेरिकाले थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला तेहरानले खाडी क्षेत्रबाट हुने सम्पूर्ण तेल निर्यात रोक्न सक्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध आर्थिक दबाब थप कडा बनाउने तयारी गरिरहेको छ भने इरानले त्यसको प्रतिकार गर्ने संकेत दिएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानलाई टिकाइरहेका सबै आर्थिक स्रोत तथा मार्ग बन्द गर्ने उद्देश्यसहित वासिङ्टन अघि बढिरहेको बताएका छन् । अमेरिकाले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा उनको यस्तो भनाइ आएको हो ।
यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले ‘आर्थिक युद्ध’ जारी राखे तेहरानले खाडीबाट हुने सम्पूर्ण तेल निर्यात रोक्ने चेतावनी दिएका छन् । उनका अनुसार अमेरिकी प्रतिबन्धलाई समर्थन गर्ने कुनै पनि देशको कदमलाई इरानले ‘युद्धको कार्य’ का रूपमा लिनेछ ।
होर्मुज जलडमरूमध्यमा शुल्क लगाउने तयारी
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिले होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्न अनुमति पाएका देशका पानीजहाजबाट इरानले उपलब्ध गराउने सेवाबापत शुल्क लिने प्रस्तावित कानुनलाई समर्थन गरेको छ ।
होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो । यहाँबाट हुने जहाज आवतजावतमा कुनै अवरोध वा नयाँ शुल्कको व्यवस्था गरिए त्यसले विश्वव्यापी ऊर्जा आपूर्ति तथा तेलको मूल्यमा समेत प्रभाव पार्न सक्ने आशंका गरिएको छ ।
अगस्ट १० मा इरानको बन्दर अब्बास तटबाट खिचिएको तस्बिरमा होर्मुज जलडमरूमध्यमा पानीजहाजहरू लंगरमा रहेको देखिन्छ ।अलजजिरा












