२०८३ भाद्र ९ गते, मंगलवार १०:२५

मधेसमा आज भारी वर्षाको सम्भावना, हावाहुरी र चट्याङबाट सतर्क रहन आग्रह

वीरगन्ज –

मनसुनी वायुको प्रभावका कारण मधेस प्रदेशमा आज वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार मधेसका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने तथा केही क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बादल लागेको अवस्थामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसमेत चल्नसक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विशेषगरी मधेस प्रदेशमा वर्षाका कारण सडक तथा ग्रामीण क्षेत्रमा आवतजावत प्रभावित हुनसक्ने, कमजोर संरचना तथा विद्युत् प्रणालीमा असर पर्नसक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ। चट्याङको जोखिम हुने समयमा खुला स्थान, रूखमुनि वा विद्युतीय उपकरण नजिक नबस्न पनि विज्ञहरूले सुझाव दिएका छन्।

आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि मधेस प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मनसुनी गतिविधि सक्रिय रहेकाले मधेस प्रदेशका नदी तथा खोलानालाको जलस्तर बढ्नसक्ने, स्थानीय रूपमा डुबानको जोखिम उत्पन्न हुनसक्ने र हावाहुरीका कारण भौतिक संरचनामा क्षति पुग्नसक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले समेत आवश्यक तयारी गर्नुपर्ने देखिएको छ।

मधेसमा वर्षा र हावाहुरीको सम्भावना रहेकाले किसान, यातायात व्यवसायी, निर्माण क्षेत्रमा काम गर्ने श्रमिक तथा सर्वसाधारणलाई मौसमको अवस्था हेरेर काम तथा यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस