काठमाडौं –
अमेरिकाले पर्यटकीय तथा व्यापारिक भिसामा रहेका झन्डै दुई लाख विदेशी नागरिकको भिसा रद्द गर्ने तयारी गरेको छ। यो योजना कार्यान्वयन भएमा अमेरिकी इतिहासमै एकैपटक ठूलो सङ्ख्यामा भिसा रद्द गरिएको घटना बन्नेछ।
अमेरिकी विदेश विभागले आगामी केही साताभित्र बी–वान (व्यापारिक) र बी–टु (पर्यटकीय) भिसा रद्द गर्ने प्रक्रिया अघि बढाउन सक्ने बताइएको छ। सन् २०१६ देखि २०२६ बीच जारी गरिएका यी भिसामध्ये अमेरिकामा प्रवेश गरेपछि शरणका लागि आवेदन दिएका वा आवेदन दिने प्रक्रियामा रहेका विदेशी नागरिकलाई लक्षित गरी कारबाही अघि बढाइने जनाइएको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता टमी पिगोटका अनुसार सम्बन्धित व्यक्तिहरू सुरुमा छोटो अवधिका लागि पर्यटक वा व्यवसायीका रूपमा अमेरिका प्रवेश गरेका थिए। तर, पछि अमेरिकामै बसोबास गर्ने उद्देश्यले शरणका लागि आवेदन दिएको पाइएपछि उनीहरूको भिसा रद्द गर्ने तयारी गरिएको हो।
भिसा रद्द हुँदैमा तत्काल निर्वासन हुँदैन
अमेरिकी सरकारले प्रस्तावित कारबाहीबाट प्रभावित हुने विदेशी नागरिकको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन। अधिकारीहरूका अनुसार प्रक्रिया चरणबद्ध रूपमा अघि बढ्ने भएकाले अन्तिम सङ्ख्या परिवर्तन हुन सक्छ।
भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निर्वासन गरिने भने होइन। विशेषगरी शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका व्यक्तिको कानुनी अवस्था छुट्टै प्रक्रियाबाट निर्धारण हुनेछ। तर, उनीहरूको व्यापारिक वा पर्यटकीय भिसामा अमेरिका प्रवेश तथा बसाइको आधार भने समाप्त हुनेछ।
ट्रम्प प्रशासनमा थप कडाइ
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले अध्यागमन तथा भिसा प्रणालीलाई थप कडा बनाउँदै आएको छ। भिसा आवेदन प्रक्रियामा सामाजिक सञ्जालसम्बन्धी विवरण माग्ने, केही देशका नागरिकका लागि कडा प्रतिबन्ध तथा महँगो भिसा बन्डलगायतका व्यवस्था अघि सारिएका छन्।
अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डोले पर्यटक वा व्यापारिक भिसाको उद्देश्यलाई परिवर्तन गरी अमेरिकामै बसोबास गर्ने माध्यमका रूपमा शरण प्रणाली प्रयोग गर्न नहुने बताएका छन्।
उनका अनुसार केही विदेशी नागरिक व्यापारिक वा पर्यटकीय भिसामा अमेरिका प्रवेश गरेपछि त्यहीँ बस्न शरणको आवेदन दिने गरेका छन्। यस्तो प्रवृत्तिलाई अध्यागमन कानुनबाट उम्किने माध्यमका रूपमा प्रयोग गर्न नदिने अमेरिकी प्रशासनको नीति रहेको उनको भनाइ छ।
१८ महिनामै १ लाख ७५ हजार भिसा रद्द
अमेरिकी विदेश विभागले पछिल्लो १८ महिनामा करिब एक लाख ७५ हजार भिसा रद्द गरिसकेको जनाएको छ। भिसा रद्द हुनेमा अपराधको आरोप लागेका वा दोषी ठहरिएका व्यक्तिसँगै अमेरिकी सरकारका नीतिविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएका केही व्यक्तिसमेत रहेको बताइएको छ।
बी–वान भिसा सामान्यतया व्यापारिक प्रयोजनका लागि तथा बी–टु भिसा पर्यटन, परिवार भेटघाट वा उपचारजस्ता छोटो अवधिका यात्राका लागि जारी गरिन्छ। यी दुवै भिसा अमेरिकामा स्थायी बसोबासको अनुमति भने होइनन्।
प्रस्तावित नयाँ कारबाहीले अमेरिकामा रहेका विदेशी नागरिकमा थप अनिश्चितता सिर्जना गर्ने देखिएको छ। विशेषगरी पर्यटक वा व्यापारिक भिसामा अमेरिका प्रवेश गरेपछि शरण प्रक्रियामा रहेका व्यक्तिको भिसा रद्द गरिएपछि उनीहरूको अध्यागमन स्थिति र आगामी कानुनी प्रक्रियाबारे थप जटिलता उत्पन्न हुनसक्ने बताइएको छ।
अमेरिकी प्रशासनले भने भिसा प्रणालीको दुरुपयोग रोक्न र अध्यागमन कानुनको कडाइका साथ कार्यान्वयन गर्न यस्तो कदम आवश्यक रहेको दाबी गर्दै आएको छ। यदि झन्डै दुई लाख भिसा रद्द गर्ने तयारी कार्यान्वयनमा आएमा यो ट्रम्प प्रशासनको अध्यागमन नीतिमा अहिलेसम्मकै ठूलो सामूहिक भिसा कारबाही बन्नेछ।रोयटर्स











