चितवन –
चितवन प्रहरीले कारको डिक्कीमा लुकाएर लैजाँदै गरिएको १६८ किलो लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–१० चिप्लेटीस्थित भित्री बाटोमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.प्र.०३–०१–०२३ च ५८२८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। नेपाल प्रहरीले पनि उक्त घटनामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेको पुष्टि गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–२ भृकुटीचोक बस्ने, मध्यविन्दु नगरपालिका–७ मिलनचोक घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ रहेका छन्। थारू कार चालक हुन् भने तामाङ कारमा सवार थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार, कारको पछाडिको डिक्कीभित्र रातो प्लास्टिकले बेरेर बाहिरबाट सेतो पानी टेपले बेरिएको अवस्थामा गाँजा लुकाइएको थियो। प्रहरीले डिक्की खानतलासी गर्दा चारपाटे आकारमा प्याक गरिएका ३२ वटा पोकामा रहेको गाँजा फेला पारेको हो।
प्रहरीले बरामद गाँजासहित कार र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। उनीहरूलाई जिल्ला अदालत चितवनमा उपस्थित गराई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।











