२०८३ भाद्र २४ गते, बुधबार ०३:०३

प्रहरीलाई आक्रमण र धम्की दिएको आरोपमा मधेस प्रदेशका पूर्वसांसद अशोक यादव पक्राउ

काठमाडौँ

मधेस प्रदेशका पूर्वसांसद अशोक यादवलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मंगलबार उनलाई हरिसिद्धि क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सवारी दुर्घटनापछिको विवादका क्रममा प्रहरीलाई घेरेर आक्रमण गरेको र धम्क्याएको आरोप यादवमाथि लागेको छ। उनी २०७४ को निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन्।

प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजे सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अगर्वामा रोकेर राखिएको ना.६ख ७६२३ नम्बरको ट्रकलाई यादवको स्वामित्वमा रहेको ज.१त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्कर दिएर भाग्न खोजेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई दुवै पक्षलाई छलफलमार्फत विवाद समाधान गर्न वा प्रहरी कार्यालयमा आउन आग्रह गरेको थियो।

त्यसपछि ट्याक्टर चालकले पूर्वसांसद यादवलाई फोन गरेर बोलाएका थिए। यादव घटनास्थलमा पुगेपछि उनीसँगै आएका व्यक्तिहरूले खटिएका प्रहरी टोलीलाई घेराउ गरी आक्रमण गरेका थिए। सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस