चितवन –
चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजेको समयमा चलिरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा एक्कासि आगो लागेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार कार पूर्वबाट पश्चिमतर्फ गइरहेको अवस्थामा आगलागी भएको थियो । आगो तीव्र रूपमा फैलिएपछि कारभित्र रहेका व्यक्ति बाहिर निस्कन नसकेको देखिएको प्रहरीले जनाएको छ ।
दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना जलेर मृत अवस्थामा फेला परेका थिए । मृतकको परिचय भने खुल्न सकेको छैन ।
आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । गुडिरहेको ईभी कारमा अचानक आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
घटनाले विद्युतीय सवारीसाधनको सुरक्षा र आगलागीको जोखिमबारे समेत प्रश्न उठाएको छ । यद्यपि, आगलागीको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।












