भक्तपुर –
ग्यासको अभाव र कालोबजारी बढिरहेका बेला भक्तपुर प्रशासनले अनुगमन तीव्र बनाउँदै ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा गरिएको अनुगमनका क्रममा भेटिएका ६० वटा ग्यास सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो ।
ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका थिए । स्थानीय प्रशासनको अनुरोधमा ती सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको उनले जानकारी दिए ।
यसैबीच, प्रहरीले ग्यासको कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–२, इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन् । त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–७ का साहले प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरिएको छ ।
ग्यासको अभाव र मूल्यवृद्धिको मौका छोपेर कालोबजारी भइरहेको सूचनापछि प्रशासन र प्रहरीले अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।












