काठमाडौं–
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक गर्भवती महिलाले बच्चा जन्माएको गम्भीर घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले संलग्न डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कामकाजबाट हटाएको छ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (नि. प्र.मे.सु.) डा. रणजित कुमार झाले भदौ २६ गते निर्णय गर्दै उनीहरूलाई तत्कालका लागि कामकाजबाट हटाइएको जानकारी दिनुभएको हो।
कामकाजबाट हटाइएकाहरूमा डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन्।
गत भदौ २५ गते अस्पतालको मूल गेटबाहिरै महिलाले बच्चा जन्माएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। भिडियो सार्वजनिक भएसँगै अस्पतालको चरम ढिलासुस्ती र बेवास्तालाई लिएर सर्वसाधारण तथा सरोकारवालाहरूले चर्को विरोध गर्दै कडा छानबिनको माग गरेका थिए।
घटनाको सत्यतथ्य पत्ता लगाउन अस्पतालले गठन गरेको छानबिन समिति तथा अन्य निकायहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट अलग राखिएको अस्पताल प्रशासनले जनाएको छ।











