काठमाडौं –
देशका विभिन्न स्थानमा अझै एक सातासम्म वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसमविद्ले सेप्टेम्बर महिनाभरि नै मनसुन सक्रिय रहने सम्भावना औँल्याएका छन्।
पछिल्ला दिनमा काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। लगातार झरी नपरे पनि हरेक दिनजसो केही समय पानी पर्ने गरेको छ। वर्षा सबै भूभागमा एकनासको नभए पनि कतिपय स्थानमा ‘धेरै भारी’ वर्षासमेत भएको छ।
यो क्रम अझै एक सातासम्म रहन सक्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन्। मनसुन सक्रिय हुँदा विभिन्न स्थानमा वर्षाको सम्भावना रहने उनले आइतबार (भदौ २८) बिहान सामाजिक सञ्जालमार्फत बताएका हुन्।
“नेपालमा कम्तीमा आगामी एक सातासम्म मौसम सक्रिय रहने र लगभग हरेक दिन विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ,” उनले लेखेका छन्, “हालको अवस्थालाई हेर्दा मनसुन यो महिनाभरि नै सक्रिय रहन सक्ने देखिन्छ।”
पछिल्लो २४ घण्टामा काठमाडौंसहित केही जिल्लाका थोरै स्थानमा ‘भारी’ वर्षा भएको छ। कास्कीका एक–दुई स्थानमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौंमा आज पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ। डडेलधुरा, दिपायल, वीरेन्द्रनगर, पोखरा र जिरीमा पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ।
आगामी तीन दिनसम्म पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।












