वीरगन्ज-
आइतबार देशका दुई ठाउँमा भएका सडक दुर्घटनाले चार जनाको ज्यान लिएको छ भने नौ जना घाइते भएका छन्। रुकुम पश्चिमको सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र नौ जना घाइते भएका छन् भने सुनसरीको इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोलामा कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। सानीभेरी-६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला हुन्।
जिपमा ११ जना सवार रहेको र दुर्घटनामा जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको वडाध्यक्ष घर्तीले बताए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै स्थानीय प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलको नेतृत्वमा थप प्रहरी टोली पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम राजमार्गमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
घटनास्थलमा पुगेको प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको टोलीले घाइते दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको थियो।
उपचारका क्रममा मोटरसाइकल चालक इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र मोटरसाइकलको पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै दुर्घटनाबारे सम्बन्धित प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











