वीरगन्ज –
हिन्दू महिलाको सबैभन्दा ठूलो पर्व हरितालिका तीज पर्सामा पनि धुमधामका साथ मनाइँदै छ। जिल्लामा रहेका शिव मन्दिरहरूमा आज बिहानैदेखि व्रतालु महिलाहरूले भगवान् शिवको पूजा–आराधना गरी तीज पर्व मनाइरहेका छन्।
तराईकै प्रसिद्ध वीरगन्जको अलखिया मठ मन्दिर, वीरगन्जको पिपरा चिनीमिल क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, छिपहरमाई गाउँपालिकाको महुवनमा रहेको पारसनाथ मन्दिर तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने प्रख्यात दुधेश्वरनाथ मन्दिरमा बिहानैदेखि ठूलो संख्यामा पूजा–आराधना गर्ने व्रतालु तथा श्रद्धालुहरू पुगेको स्थानीय प्रशासनले जनाएको छ।
श्रीमान्को दीर्घायु र घरपरिवारमा सुख–शान्तिको कामना गर्दै पूजा सम्पन्न गरेका व्रतालु तथा श्रद्धालु महिलाहरूले मन्दिर परिसरमा भजन–कीर्तनसँगै तीजका गीत गाउँदै भगवान् शंकरको आराधना गरिरहेका छन्।
मन्दिरमा पूजा गर्न आउने महिलाहरूको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।











