काठमाडौं –
नेपाली कांग्रेसभित्र महाधिवेशनको विवाद चर्किंदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले संस्थापन पक्षले तय गरेको प्रक्रियामा सहभागी नहुने र आफ्नै ढंगले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सोमबार भदौ २९ गते पूर्वसभापति देउवाको महाराजगन्जस्थित निवासमा बसेको संस्थापनइतर समूहको बैठकले आफ्नै ढंगबाट १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियामा सहभागी हुन सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै देउवा समूहले छुट्टै प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यो निर्णयसँगै नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको महाधिवेशन विवाद अब पार्टीभित्रै दुईवटा प्रक्रियाबाट महाधिवेशनतर्फ जाने सम्भावनातर्फ उन्मुख भएको छ।
संस्थापन पक्षले यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो। तर देउवा समूहले उक्त निर्णय स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको हो।
देउवा समूहले आफूहरू कुनै पद वा व्यक्तिगत स्वार्थका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको दाबी गरेको छ। बैठकले कांग्रेस नेता उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई आधार बनाएर महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाइएको छ।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षबाट गरिएको निर्णयबारे अनौपचारिक छलफल भएको बताए। उनले देउवा समूहको औपचारिक धारणा भने सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिए।
देउवा समूहको पछिल्लो निर्णयसँगै कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर विवाद थप गहिरिएको छ। एउटै पार्टीभित्र फरक–फरक महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णयले कांग्रेसको आन्तरिक विवाद अब नेतृत्व र पदको प्रतिस्पर्धाबाट बाहिरिएर पार्टीको वैधानिक संरचना र भविष्यसँग जोडिएको गम्भीर संकटतर्फ धकेलिएको संकेत गरेको छ।











