२०८३ भाद्र २९ गते, सोमबार २३:००

विशेष अदालतबाट वीरगन्जका मेयर राजेशमान सिंहलाई सफाइ

वीरगन्ज

किर्ते कागजातका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा मुद्दा खेपिरहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतको इजलास नम्बर १ का माननीय न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमवार उक्त मुद्दामा सुनुवाइ गर्दै मेयर सिंहसहितका प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २६ गते मेयर सिंहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो। अख्तियारले दर्ता गरेको मुद्दामा वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव भिखारी राय, कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी षडकुमार पोखरेललगायत सरकारी कर्मचारी तथा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका पदाधिकारीहरूलाई प्रतिवादी बनाइएको थियो।

अदालतको यो फैसलासँगै मेयर सिंहमाथि लगाइएको किर्ते तथा भ्रष्टाचारसम्बन्धी आरोप खारेज भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस