२०८३ भाद्र ३१ गते, बुधबार १७:२५

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहा —

सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार भदौ ३० गते राति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो।

सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा प्रहरीलाई देखेपछि एम्बुलेन्स चालक सवारीसाधन छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा भित्र लुकाएर राखिएका ५ वटा बोराबाट १०५ किलो गाँजा बरामद गरेको हो।

प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको छ। फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस