२०८३ भाद्र ३१ गते, बुधबार १७:२५

सुनसरीमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकको मृत्यु, पाँच घाइते


इनरुव-

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज मोटरसाइकल र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प १७६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट सिटी सफारी आज एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार कोशी गाउँपालिका–३ का २३ वर्षीय जितेन्द्र रामको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते रामलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

दुर्घटनामा सिटी सफारीमा सवार भोक्राहा नरसिंह गाउँपालिका–८ की३५ वर्षीया राजो खातुन, १८ वर्षीय तवरेज मन्सुरी, ३० वर्षीया समसा खातुन र ३५ वर्षीया फेकनी खातुन तथा मोटरसाइकलमा सवार कोशी गाउँपालिका–३ का २८ वर्षीय प्रदीप नारायण यादव घाइते भएका छन्।

घाइतेमध्ये राजो खातुन, तवरेज मन्सुरी र समसा खातुनलाई जिल्ला अस्पताल इनरुवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था क्रमशः सामान्य, मध्यम र मध्यम रहेको छ।
फेकनी खातुन र प्रदीप नारायण यादवको भोक्राहा नरसिंहस्थित सप्तकोशी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी चौकी चिरौली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। सिटी सफारी चालकको पहिचान खुले पनि उनी हाल फरार रहेको र मोटरसाइकल चालकका सम्बन्धमा समेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस