२०८३ भाद्र ३१ गते, बुधबार १७:२५

पदभार ग्रहन गरे लगतै मेयर सिंहले दिए हरिपन्त लाई चुनौति

वीरगन्ज

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएर हाजिर भएका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पदभार ग्रहणलगत्तै आक्रामक रूपमा प्रस्तुत हुँदै प्रतिनिधि सभा सदस्य हरिपन्तलाई खुला चुनौती दिएका छन्।

बुधबार महानगरपालिकामा आयोजित पदभार ग्रहण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले सांसद पन्तमाथि कडा प्रहार गरे। पन्तलाई ‘बाहिरको पहडियाको संज्ञा’ दिँदै उनले पूर्वमन्त्री प्रदीप यादवले गरेका विकास निर्माणका कामहरूलाई सांसद पन्तले आफ्नो श्रेयको रूपमा प्रचार गरिरहेको आरोप लगाए। सिंहले भने, “संसद्मा महानगरभित्र भ्रष्टाचार मात्रै देख्ने तर यहाँको जनशक्ति अभाव र बजेटको बेथिति नदेख्नु दुर्भाग्यपूर्ण छ।”

वीरगन्जवासीको मतमाथि व्यङ्ग्य गर्दै उनले गत निर्वाचनमा जनताले लहरको भरमा पन्तलाई जिताएको टिप्पणी गरे।

“दम छ भने अख्तियार लिएर आउनुहोस्, पूर्वमेयरको कार्यकालसहित छानबिन गरियोस्”

सम्बोधनका क्रममा मेयर सिंहले आफूले कार्यकालमा कुनै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै सांसद पन्तलाई ठाडो चुनौती दिए। उनले भने, मैले आफ्नो कार्यकालमा अहिलेसम्म कुनै भ्रष्टाचार गरेको छैन। यदि बहालवाला सांसदलाई दम छ भने अख्तियार लिएर आउनुहोस् र मेरो कार्यकाल तथा पूर्वमेयरको कार्यकालसहित छानबिन गर्न म खुला चुनौती दिन्छु।”

कर्मचारीलाई कडा चेतावनी: “कलम चलाउन बाध्य नपार्नुहोस्”

आफू अनुपस्थित रहेको मौका छोपी केही कर्मचारीहरूले चलखेल गरेकोप्रति संकेत गर्दै मेयर सिंहले उनीहरूमाथि कडा आक्रोश पोखे। कर्मचारीहरूलाई आफ्नो आचरण सुधार्न चेतावनी दिँदै उनले भने, आफूखुसी छाडा बनेका कर्मचारीहरू तत्काल आ-आफ्नो स्थानमा फर्किएर काम गर्नुहोला, मलाई कसैको फाइलमाथि कडा कलम चलाउन बाध्य नपार्नुहोस्।”

त्यस्तै, सेवाग्राहीको अत्यधिक गुनासोलाई सम्बोधन गर्दै उनले तत्काल महानगरको राजस्व शाखामा टोकन प्रणाली हटाउन निर्देशन दिएका छन्।

“षड्यन्त्र असफल भयो, अब वैभव वीरगन्ज बनाऔँ”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो विरुद्धमा केही व्यक्तिले सुनियोजित षड्यन्त्र र मुद्दा चलाए पनि विशेष अदालतले त्यसलाई खारेज गर्दै न्याय दिएको उनले बताए। आफ्नो अनुपस्थितिमा योजनाबद्ध रूपमा चरित्र हत्या गर्नेहरूको पर्दाफास भएको भन्दै उनले अब ती षड्यन्त्रकारीहरू परास्त भएको दाबी गरे।

सम्बोधनको अन्त्यमा उनले राजनीतिक पूर्वाग्रह र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै पक्षलाई साथमा लिएर ‘वैभव वीरगन्ज’ निर्माणको अभियानमा जुट्न अपिल गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस