वीरगन्ज –
भारतसँग सीमा जोडिएका मधेश प्रदेशका आठै जिल्लामा नगद रकमको अवैध ओसारपसार नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको छ । सीमावर्ती क्षेत्रमा हुने शंकास्पद नगद कारोबारमाथि प्रहरीले निगरानी बढाएसँगै स्रोत खुलाउन नसकिएको ठूलो रकम बरामद हुने क्रमसमेत देखिएको छ ।
यसैक्रममा धनुषामा प्रहरीले स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनौजी गाउँपालिका–२ स्थित गोरदाहा–देउरी भित्री सडकखण्डमा मोटरसाइकल जाँच गर्ने क्रममा भारत बिहारको मधुवनी जिल्लाका ३५ वर्षीय राधाकान्त बयाग्रे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ ३१ गते दिउँसो करिब ३ः४५ बजे प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले भारतबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो । जाँचका क्रममा बयाग्रेको कम्मरमा कपडाको पेटीभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो परिमाणमा नगद बोकेर सीमावर्ती क्षेत्रबाट आवतजावत गरिरहेको र गतिविधि शंकास्पद देखिएपछि मोटरसाइकल रोकेर खानतलासी गरिएको थियो । बरामद रकमको स्रोत, रकम कहाँबाट प्राप्त भएको हो, कहाँ लैजान लागिएको थियो तथा त्यसको अन्य व्यक्ति वा कारोबारसँग सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती जिल्लामा रकम बरामद हुने क्रम
धनुषाको पछिल्लो घटनाले मधेशका सीमावर्ती क्षेत्रमा स्रोत नखुलेको नगद रकमको ओसारपसारमाथि प्रहरी निगरानीको विषयलाई पुनः सतहमा ल्याएको छ । मधेश प्रदेश प्रहरीले यसअघि पनि विभिन्न जिल्लामा स्रोत नखुलेको रकमसहित मानिसलाई नियन्त्रणमा लिएको विवरण सार्वजनिक गर्दै आएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट केही दिनअघि प्रहरीले स्रोत नखुलेको भारतीय ४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्दा ५०० रुपैयाँका ८९१ थान, २०० रुपैयाँको एक थान र १०० रुपैयाँका ४३ थान भारतीय नोट फेला परेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहटमा प्रहरीले स्रोत नखुलेको ४ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको घटना पनि सार्वजनिक गरेको छ । भारतबाट आउने क्रममा मोटरसाइकल जाँच गर्दा रकम फेला परेको प्रहरीले जनाएको थियो ।
सिरहामा पनि भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा ८ लाख २५ हजार रुपैयाँ, चेकबुक, एटीएम कार्ड तथा अन्य कागजातसहित एक जनालाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरीले जनाएको थियो ।
खुला सीमाको फाइदा उठाएर अवैध कारोबार?
मधेश प्रदेशका आठै जिल्ला भारतसँग जोडिएका छन् । खुला सीमाका कारण दुवै देशका नागरिकको नियमित आवतजावत हुने भएकाले सीमावर्ती क्षेत्रमा वैध व्यापार तथा आर्थिक कारोबारसँगै अवैध वित्तीय कारोबारको जोखिम पनि रहने गरेको सुरक्षा निकायको निगरानीले देखाउँछ ।
विशेषगरी हुण्डीलगायत अनौपचारिक तथा अवैध वित्तीय कारोबारमा ठूलो परिमाणमा नगद प्रयोग हुन सक्ने भएकाले प्रहरीले सीमावर्ती क्षेत्रमा चेकजाँच र निगरानी बढाउँदै आएको छ । मधेश प्रदेश प्रहरीले आफ्नो वेबसाइटमा स्रोत नखुलेको रकम तथा हुण्डी कारोबारसम्बन्धी बरामद घटनालाई छुट्टै शीर्षकमा समेत राखेको छ ।
यद्यपि सीमावर्ती क्षेत्रमा हुने सबै नगद कारोबारलाई अवैध मान्न नमिल्ने भएकाले प्रहरीले वैध व्यापारिक कारोबार र अवैध वित्तीय कारोबारबीच स्पष्ट आधारमा अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । वैध कारोबार गर्ने व्यवसायीलाई अनावश्यक झन्झट नहुने र अवैध रकमको ओसारपसार नियन्त्रण हुने गरी अनुसन्धान अघि बढाउनुपर्ने व्यवसायीहरूको माग छ ।
धनुषामा पक्राउ परेका बयाग्रेविरुद्ध भने बरामद रकमको स्रोत तथा वित्तीय कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनामा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसुरबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।












