२०८३ आश्विन १ गते, बिहीबार १४:२२

उपचारकै क्रममा मधेश प्रदेश सांसद जैनब खातुनको निधन

वीरगन्ज –

मधेश प्रदेशसभा सदस्य जैनब खातुनको उपचारकै क्रममा आकस्मिक निधन भएको छ । अचानक रगतमा चिनीको मात्रा बढेपछि वीरगन्ज ल्याइएकी नेकपा एमालेकी समानुपातिक सांसद खातुनको बुधबार राति नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ मधेश प्रदेशसभा सदस्य रहेकी खातुनलाई बुधबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगन्ज ल्याइएको थियो । अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुन नेकपा एमालेबाट समानुपातिक सांसदका रूपमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

उनको आकस्मिक निधनको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी स्तब्ध भएका छन् । खातुनको निधनपछि रौतहटको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ ।

स्थानीयवासी तथा शुभेच्छुकहरूले खातुनको निधनलाई परिवारका लागि मात्र नभई जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रका लागि समेत अपूरणीय क्षतिका रूपमा लिएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस