२०८३ आश्विन १ गते, बिहीबार १४:५६

झापा र इलाममा सवारी दुर्घटनाको कहर, दुई चालकको मृत्यु

वीरगन्ज ।

झापा र इलाममा बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई चालकको मृत्यु भएको छ।

झापाको झापा गाउँपालिका–३ कामाटोलीमा भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको हो।

बिहीबार बिहान करिब १०ः३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको भारतीय मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका अलीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै, इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता निवासी करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेत जिपले थिचिएका थिए।

जिपले थिचिएपछि बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको आवश्यक मुचुल्कालगायत कानुनी प्रक्रिया अघि बढाएको छ। दुवै दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस