२०८३ आश्विन ३ गते, शनिबार ०९:५३

संविधान दिवस : उत्सवसँगै पूर्ण कार्यान्वयनको संकल्प गर्न राष्ट्रपति–उपराष्ट्रपतिको आह्वान

वीरगन्ज-

संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। २०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र मौलिक अधिकारलाई संस्थागत गर्दै नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाउने गरिएको हो।

दिवसका अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरिँदैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहनेछ। प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिकस्तरमा समेत विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन आह्वान गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्वसँगै सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताए।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने राजनीतिक दलका नेता, नागरिक तथा राजनीतिक कार्यकर्ताको योगदानको सम्मान गरेका छन्।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान नेपालको विशेषता रहेको उल्लेख गर्दै पौडेलले संविधानले सबै समुदायलाई समान संरक्षण प्रदान गरेको बताए। उनले नेपालीबीचको सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने गतिविधि नहोस् भन्ने विश्वाससमेत व्यक्त गरेका छन्।

यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानलाई नेपाली जनताको दीर्घ संघर्ष, देशको विविधता र समावेशिताको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले संविधानले न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्ने आधार तयार गरेको बताए।

उपराष्ट्रपति यादवले संविधानको मर्मअनुसार संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना, मौलिक हकको प्रभावकारी कार्यान्वयन र संघीय संरचनाको सुदृढीकरण आवश्यक रहेको बताएका छन्।

शक्ति र स्रोतको न्यायोचित बाँडफाँड गर्दै प्रदेश तथा स्थानीय तहलाई संविधानअनुसार अधिकार सम्पन्न बनाउन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न यी प्रयास निर्णायक हुने बताए।

संविधान दिवसका अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिका सन्देशले संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरणसँगै यसको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक मूल्यको संरक्षण, समावेशिता, सामाजिक न्याय र संघीय संरचनालाई थप सुदृढ बनाउने विषयलाई केन्द्रमा राखेका छन्।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिँदै दुवै नेताले संविधानको मर्म र भावनाअनुसार अघि बढ्दै लोकतन्त्र, सामाजिक न्याय र समृद्धिलाई संस्थागत गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस