२०८३ आश्विन ४ गते, आईतवार ११:००

जनकपुरमा गएराति आगलागी हुँदा ७० वर्षीय पुरुषको मृत्यु

जनकपुर –

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक पुरुषको मृत्यु भएको छ।

आगलागीमा परी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

शनिबार राति भएको आगलागीमा सहनी जलेर गम्भीर घाइते भएका थिए। घटनास्थलबाट उद्धार गरी उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरायसी सामानसहित करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान छ।

प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय तहको वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस