वीरगन्ज–
वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको सचिवालय र निजी निवासमा १८ जना नगर प्रहरी परिचालन गरिएको भन्ने समाचार कपोलकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको उपप्रमुखको सचिवालयले जनाएको छ। उपप्रमुखको निजी निवासमा दुई जना नगर प्रहरी मात्र परिचालन गरिएको सचिवालयले दाबी गरेको छ।
उपप्रमुखका प्रेस सल्लाहकार मोहम्मद सदाब मल्लिकले दिएको जानकारीअनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायको सुझावका आधारमा जेनजी आन्दोलनपछि उपप्रमुखको निवासमा दुई जना नगर प्रहरी परिचालन गरिएको हो।
जेनजी आन्दोलनका क्रममा देखिएका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नगरप्रमुख राजेशमान सिंहको निवासमा चार जना र उपप्रमुखको निवासमा दुई जना नगर प्रहरी परिचालन गर्ने निर्णय भएको मल्लिकले दाबी गरे।
निवासमा आउने व्यक्तिहरूको सहजता र उपप्रमुखको सुरक्षालाई दृष्टिगत गरी नगर प्रहरी परिचालन गरिएको मल्लिकको दाबी छ।
नगरप्रमुख राजेशमान सिंहको निलम्बन फुकुवा भई कार्यालयमा उपस्थित भएपछि उनका आसेपासे केही व्यक्तिले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई उपप्रमुखको छवि खराब पार्ने उद्देश्यले नियोजित समाचार सम्प्रेषण गरेको मल्लिकले आरोप लगाए।
महानगरपालिकाले नगरप्रमुख सिंह र उपप्रमुख आलम दुवैको घर सुरक्षाका लागि नगर प्रहरी परिचालन गर्दै आएकोमा नगरप्रमुख सिंह निलम्बनमा परेको बेलाको दुई दिनको मात्र ड्युटी लिस्ट सार्वजनिक गर्नुले समेत समाचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको पुष्टि गर्ने उनको भनाइ छ।
नगर प्रहरी खटाउने विषयमा प्रकाशित समाचार गलत, भ्रामक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकाले त्यस्ता समाचारप्रति विश्वास नगर्न उपप्रमुखको सचिवालयले आम वीरगन्जवासीलाई अपिल गरेको छ।
सचिवालयले शनिबार नै विज्ञप्ति जारी गर्दै उपप्रमुखको निवास र सचिवालयका विषयमा प्रकाशित समाचारको खण्डन गरेको छ। कार्यालय परिसरमा खटिने नगर प्रहरी उपप्रमुखका लागि मात्र नभई कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि समेत परिचालन हुने गरेको सचिवालयले स्पष्ट पारेको छ।
उपप्रमुखसँग जोडिएका समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइसमेत समावेश गरेर मात्र समाचार सम्प्रेषण गर्न सचिवालयले सम्पूर्ण सञ्चारकर्मीलाई अपिल गरेको छ।











