२०८३ आश्विन ५ गते, सोमबार १०:५१

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं –

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भारत भ्रमणबारे सरकारी कि निजी भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत रिजालले यस्तो प्रश्न गरेका हुन् । उनले अर्थमन्त्री वाग्लेको भारत भ्रमण सरकारी वा निजी कुन प्रकृतिको हो भन्ने स्पष्ट हुनुपर्ने बताए । उनले भ्रमण राष्ट्रको सम्बन्ध विस्तारका लागि भएको हो वा अर्थमन्त्रीको व्यक्तिगत सम्बन्ध विस्तारका लागि भन्ने प्रश्नसमेत गरे ।

‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बहुप्रचारित भारत भ्रमण सरकारी हो कि निजी हो ? राष्ट्रको सम्बन्ध विस्तारका लागि हो कि उहाँको व्यक्तिगत सम्बन्ध विस्तारका लागि हो ? भ्रमणका बारेमा नेपाल र भारत दुवै तर्फबाट औपचारिक रूपमा केही बताइएन,’ रिजालले भनेका छन् ।

सदस्य रिजालले भ्रमणबारे नेपाल र भारत दुवै पक्षबाट औपचारिक रूपमा केही जानकारी नगराइएको बताए । उनका अनुसार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली राजदूतावासका वेबसाइटमा भ्रमणसम्बन्धी कुनै वक्तव्य छैन । भारतीय विदेश मन्त्रालयले पनि औपचारिक वक्तव्य जारी नगरेको उनको भनाइ छ ।

उनले भने, ‘परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली राजदूत बास– कुनैको वेबसाइटमा पनि वक्तव्य छैन। भारतीय विदेश मन्त्रालयले पनि औपचारिक वक्तव्य दिएको छैन ।’

उनले भ्रमण आकस्मिक रूपमा आयोजना गरिएको र त्यसको तीव्र प्रचारप्रसार गरिएको टिप्पणी गरेका छन् । भारतमा सार्वजनिक व्यक्तित्व निर्माणका लागि वाग्लेका नयाँ–पुराना मित्रहरू सक्रिय भएको देखिए पनि भ्रमणको औपचारिक कार्यसूची र उपलब्धिबारे भने जानकारी नपाइएको उनले बताएका छन् ।

‘आकस्मिक रूपमा आयोजना गरिएको, तीव्र प्रचारप्रसार गरिएको र भारतमा सार्वजनिक व्यक्तित्व निर्माण गर्न उहाँका नयाँ–पुराना सबै मित्रहरू मैदानमै जुटेको त देखियो तर भ्रमणको औपचारिक कार्यसूची र उपलब्धि के रहेछ भन्ने देख्नरसुन्नरपढ्न पाइएन,’ उनले भने ।

रिजालले भ्रमणको औपचारिक कार्यसूची र उपलब्धिबारे जानकारी सार्वजनिक गर्नुपर्ने आशय व्यक्त गर्दै व्यङ्ग्यात्मक प्रश्न समेत गरेका छन् । उनले भने, ‘कि ‘मुनरो डक्ट्रिनुले यस्ता विषयलाई राष्ट्रको संस्थागत स्मृतिमा औपचारिक रूपमा राख्न मिल्दैन भन्छ ?’

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस