२०८३ आश्विन ५ गते, सोमबार ११:३८

पर्साको पटेर्वासुगौलीमा प्रहरीले चलायो दुई राउण्ड गोली

वीरगन्ज

पर्साको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले गएराति दुई राउण्ड गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ।

गाउँपालिकाको वडा नम्बर १ मलाही टोलमा राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पेस्तोलबाट दुई राउण्ड गोली चलाएर स्थानीय तीन जनालाई नियन्त्रणमा लिएको हो।

मलाही टोलमा प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करीमा संलग्न व्यक्ति फरार हुन थालेपछि उनीहरूलाई नियन्त्रणमा लिन सानो हतियारबाट दुई राउण्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले ३० किलो लागुऔषध गाँजासहित स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी भनिने भुरा सहनीलाई नियन्त्रणमा लिएको उनले बताए।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखेर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी मल्लले जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस